डाटा हराएपछि लोक सेवा आयोगका पूर्वनिर्धारित परीक्षा  प्रभावित 

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १७ २१:१४ बजे

काठमाडौँ । लोक सेवा आयोगले पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरू परिमार्जन गर्ने प्रक्रिया अगाडि बढाएको छ । सरकारी डाटा हराएपछि आयोगले एक सूचना जारी गर्दै यस्तो तयारी  थालेको हो । 

आयोगका प्रवक्ता एवम् सहसचिव तोयनारायण सुवेदीले विज्ञप्तिमार्फत २०७१ देखि पब्लिक सर्भिस म्यानेजमेन्ट सिस्टमको अनलाइन प्रणाली सरकारी एकीकृत डाटा सेन्टरको पूर्वाधारमा होस्ट गरी सञ्चालन गर्दै आएको र त्यसबाट डाटा हराएकोले आयोगले पूर्वनिर्धारित परीक्षाहरू परिमार्जनबारे छलफल गरिरहेको बताएका छन् ।  

गत फागुन २३ गतेदेखि जीआइडीसीमा समस्या आएपछि डाटा हराएको  जनाइएको छ । हराएका डाटाहरू  खोज्नका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रले डाटा रिकभरीको प्रयास गरिरहेको तर हालसम्म कति रिकभर भएको वा हुन सक्नेबारे स्पष्ट नभएको आयोगले जनाएको छ । 

यसरी डाटा हराउँदा आयोगले गत मङ्सिर मा प्रकाशित शाखा अधिकृत, पुसमा प्रकाशित नायब सुब्बा तथा माघमा प्रकाशित नायब सुब्बा प्राविधिक र स्वास्थ्य सेवा तर्फको पाँचौँ तहको विज्ञापनमा पेस भएका दरखास्त आफूहरूसँग नभएको बताएको छ ।  

त्यसैले अब उक्त विज्ञापनमा दरखास्त दस्तुर तिरेको विवरण आयोगसँग सुरक्षित रहेकोले त्यसैका आधारमा दस्तुर तिरिसकेका उम्मेदवारहरूलाई मात्र उचित समय प्रदान गरी पुनः दरखास्त आह्वान गर्ने र यथाशीघ्र नयाँ परीक्षा कार्यक्रम प्रकाशन गर्ने प्रक्रिया थालिएको जनाइएको छ । 

२०८० वैशाख १७ २१:१४ बजे

प्रतिक्रिया