सर्वोच्च अदालतवाट नक्कली अधिवक्ता पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १४ १९:४५ बजे

काठमाडौं । चैतको अन्तिम साता काठमाडौं प्रहरी परिसरले ‘भरतविक्रम सिंह’ नाम गरेका व्यक्तिलाई पक्राउ गर्‍यो । टेकुस्थित प्रहरी परिसरमा भएको प्रारम्भिक सोधपुछमा ती व्यक्तिले आफ्नो नाम मानबहादुर सिंह भएको बताए ।जाजरकोटको छेडा नगरपालिका स्थायी घर भएको बताउने मानबहादुरबारे प्रहरीले सम्बन्धित जिल्ला प्रशासनमा बुझ्यो । नागरिकताको प्रतिलिपी प्रहरीलाई पठाइयो । मानबहादुरले भनेको जन्ममिति, ठेगाना र अनुहार उक्त नागरिकताको प्रतिलिपीसँग मिल्यो ।

नागरिकताको तस्बिर अलिक घोत्लिएर हेर्दा फरक देखिने अवस्था थियो’, काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले भने । त्यसपछि प्रहरीले आफ्नो च्यानल प्रयोग गरेर छेडा नगरपालिकामा बुझ्यो ।उताबाट खबर आयो मानबहादुर त डेढ दुई वर्षअघि नै बितिसकेका हुन् । त्यसपछि प्रहरीले थप केरकार गर्‍यो । अनुसन्धानका क्रममा ती व्यक्तिले आफू मानबहादुर सिंहको भाइ भक्तबहादुर सिंह भएको बताए ।

‘हामीले फेरि नागरिकताको विवरण हेर्‍यौं । यसपटक ढुक्क हुने अवस्था थियो’, एसएसपी कार्कीले भने ।प्रहरीले ती व्यक्तिले सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको थियो । भक्तबहादुर आफू अधिवक्ता बनेर त्यहाँ बैंकिङ कसुरसम्बन्धी मुद्दाको मिलापत्र कागज गर्न पुगेका थिए ।

‘एकजना नक्कली अधिवक्ताले काम गरिरहेका छन् भन्ने थाहा पाएपछि हामी सुक्ष्म निगरानीमा थियौं । त्यहीक्रममा उनी सर्वोच्च अदालतमा रहेको थाहा पाएपछि सर्वोच्च प्रशासनलाई समेत जानकारी गराएर हामीले गोप्यरूपमा अनुसन्धान गरिरहेका थियौं ‘, कार्की भन्छन् ।

प्रहरीले नेपाल बार काउन्सिलसँग बुझ्दा भरतविक्रम सिंहको नाममा भक्तबहादुरले प्रयोग गर्ने गरेको अधिवक्ता प्रमाणपत्र नम्बर नेपालगन्जका अधिवक्ता गणेशप्रसाद शर्माको भएको खुल्यो । प्रहरीलाई नेपाल प्रहरीकै एक प्राविधिक डीएसपीले आफ्ना बुबालाई मुद्दा मिलाइ दिन्छु भनेर नक्कली अधिवक्ताले ३० लाख रूपैयाँ ठगेको उजुरी गरेका थिए ।

‘अदालतमा मुद्दा पनि मिलाइ दिन्छु भनेर ३० लाख रूपैयाँ ठगेका रहेछन् । पछि आरोपित व्यक्तिलाई डेढ करोड जरिबाना र कैद सजाय भएपछि परिवार छाँगाबाट खसेजस्तै भएछ’, अनुसन्धानमा खटिएका एक अधिकृत भन्छन् ।

भक्तबहादुरले २०५७ साल वैशाख १ गते नेपाल प्रहरीमा जवान पदमा जागिर सुरू गरेका थिए ।तालिम गरेर दंगा गणमा रहेका बेला उनी सहायक हवल्दार बन्दै सशस्त्र प्रहरी बल (एपीएफ) पुगे । तर, २०६४ सालमा इन्सपेक्टरको फूली लगाएर दुरुपयोग गरेको अभियोगमा उनलाई सशस्त्रले सेवाबाट बर्खास्त गरेको अनुसन्धानका क्रममा खुलेको छ । त्यतिबेला उनी हवल्दार थिए । त्यसपछि नेपालगन्जमा उनले दुई बालकको हत्यामा पक्राउ परेका व्यक्तिलाई छुटाइदिन्छु भनेर ठगी गरेको आरोपमा पक्राउ परेका थिए । त्यस्तै नेपालगन्जबाट काठमाडौं ल्याएर भएको युवती अपहरणमा पनि उनी मुछिएका थिए । सोहीक्रममा अधिवक्ता गणेशप्रसाद शर्मासँग भक्तबहादुरको चिनजान भएको पाइएको छ ।

‘उनको मुद्दामा बहस गरेका अधिवक्ताको प्रमाणपत्र नम्बर प्रयोग गरेरै उनले अदालती कामकारबाहीहरू गर्दै आएको पाइएको छ’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् । त्यसयता उनले अधिकांश घटनामा आफूलाई कानुन व्यवसायीका रूपमा प्रस्तुत गरेर मुद्दा मिलाउने, छुटाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।


२०८० वैशाख १४ १९:४५ बजे

प्रतिक्रिया