एनओसी नदिने निर्णय फिर्ता ,कन्सल्टेन्सीहरुको भूमिका संकुचित

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १३ २१:३१ बजे

काठमाडौँ । सरकारले कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जानेलाई एनओसी नदिने निर्णय फिर्ता लिएको छ । वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९ सार्वजनिक गर्दै कक्षा १२ पछिका डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जाने विद्यार्थीलाई एनओसी नदिने  निर्णय सरकारले फिर्ता लिएको हो । सरकाले उक्त निर्णय फिर्तालिएसँगै फेरी पहिलेकै जस्तै पढ्नका लागि निद्यार्थीहरुले विदेश जान पाउने भएका छन् ।

गत चैत १९ गतेदेखि नेपालको संविधान र शिक्षा ऐनको संशोधनले विद्यालय शिक्षा भनेर कक्षा १२ सम्मलाई परिभाषित गरेको र त्यहि आधारमा निर्देशिका तयार गरेको भन्दै स्नातक अघिको कुनै पनि कार्यक्रमको लागि एनओसी दिन रोकेको थियो । विरोध तथा दबावको कारण सरकारले निर्देशिका संशोधन गरी कक्षा १२ पछि र स्नातकअघिका शैक्षिक कार्यक्रमको लागि पनि एनओसी दिने निर्णय गरेको छ ।

विदेशी विश्वविद्यालयको कपितय प्राविधिक नियमहरुका कारण संशोधन गर्नुपर्ने भएको जनाइएको छ । संविधान र शिक्षा ऐनको संशोधन अनुसार निर्देशिका  बनाएको तर कतिपय विश्वविद्यालयले सोझै स्नातक भर्ना नदिने भएपछि निर्देशिका पनि संशोधन गर्नुपरेको जनाइएको छ ।

निर्देशिका संशोधनसँगै विद्यार्थीहरुले डिप्लोमा तह वा सो सरहको अध्ययन तथा भाषा अध्ययनका लागि वैदेशिक अध्ययन अनुमति पत्र ९एनओसी० लिन पाउने भएका छन् ।चैत १९ गतेदेखि भाषा पनि डिग्री सम्बन्धित अर्थात शैक्षिक कार्यक्रमसँग जोडिएकालाई मात्रै दिने अथवा विश्वविद्यालयले दिने अफर लेटरमा स्पष्ट उल्लेख गरिएको भाषा अध्ययनलाई मात्र दिने भनेर रोकिएको थियो ।

निर्देशिकाले सरकारले सूचीकृत गरेको विश्वविद्यालय, शैक्षिक संस्थामा सञ्चालित शैक्षिक कार्यक्रम अध्ययन गर्नका लागि मात्रै वैदेशिक अध्ययन अनुमति पत्र पाउने व्यवस्था गरेको छ ।शाखामा सूचीकृत नभएका विश्वविद्यालय तथा शैक्षिक संस्था र शैक्षिक कार्यक्रमका लागि शाखाले एनओसी जारी नहुने र सरकारले आवश्यकता अनुसार उक्त सूची अद्यावधिक गर्नेछ ।

कन्सल्टेन्सीहरुले आफ्नै तरिकाले विश्वविद्यालय, शैक्षिक संस्था, कार्यक्रम खोजी गर्ने, भिषा लगाउने र अन्तिम समयमा मात्रै एनओसी लिने गरेका थिए । तर अब भने निर्देशिकाले कन्सल्टेन्सीहरुको भूमिका संकुचित बनाउँदै शाखामा सूचीकृत भएका विश्वविद्यालय, शैक्षिक संस्था, शैक्षिक कार्यक्रमका लागि मात्रै एनओसी जारी गर्ने निर्देशिकाले उल्लेख गरेको छ । विदेशी मुद्रा सटही सम्बन्धित विद्यार्थीले पेश गरेको अनुमतिपत्रको आधारमा पाउने सम्बन्धित बैंकले विदेशी मुद्रा सटही सुविधा दिएपछि कुन कुन शीर्षकमा के कति रकमको सटही सुविधा उपलब्ध गराएको हो त्यसको विवरण तथा सटही सुविधा लिएपछि सो सुविधा अनुसारको विदेशी मुद्रा फिर्ता गरेको भए सोको विवरण अनलाइनमा प्रविष्टि गराउनुपर्नेछ ।

२०८० वैशाख १३ २१:३१ बजे

प्रतिक्रिया