राष्ट्रपति बाइडेन जी सेभनको शिखर बैठकमा सहभागी हुने

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १३ १३:११ बजे

वासिङ्टन। अमेरिकाका राष्ट्रपति जो बाइडेन आगामी जेठ ५ देखि ७ गतेसम्म जापानको हिरोसिमामा आयोजना हुने जी सेभनका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुनुहुने भएको छ । उक्त घोषणा राष्ट्रपतिको कार्यालयले आज गरेको हो ।

शिखर बैठकको कार्यसूची युक्रेन युद्ध, विश्वव्यापी जलवायु तथा खाद्य सङ्कट तथा समावेशी आर्थिक वृद्धि हुने राष्ट्रपति कार्यालयका सञ्चार अधिकृत करिन जीन पियरले एक विज्ञप्ति निकालेर बताएका छन् ।

जी सेभनमा बेलायत,क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र संयुक्त राज्य अमेरिका छन् । दोस्रो विश्वयुद्धमा अमेरिकाले आणविक बम खसालेको उक्त स्थानमा हुने शिखर बैठकमा जापानले आणविक निःशस्त्रीकरणलाई मूल मुद्दा बनाउने प्रधानमन्त्री फुमियो किसिदाले बताउनुभएको छ ।

जी सेभनको बैठकपछि अमेरिकी राष्ट्रपतिले अष्ट्रेलियको सिड्नीमा हुने अष्ट्रेलिया, भारत, जापान र अमेरिका सदस्य रहेको रणनीतिक सुरक्षा समूह क्वाड नेताहरूको शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको ह्वाइट हाउसले जनाएको छ ।

एसिया–प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढ्न नदिन गठित क्वाडको बैठकमा उदीयमान प्रविधि, गुणस्तरीय पूर्वाधार, विश्व स्वास्थ्य, जलवायु परिवर्तन, समुद्री क्षेत्रमा जागरूकता अभिवृद्धिलगायत विषयमा विचार विमर्श हुनेछ । रासस

२०८० वैशाख १३ १३:११ बजे

प्रतिक्रिया