मधेश प्रदेशमा गहुँ उत्पादनमा वृध्दि

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख १२ ०९:४४ बजे

 जनकपुर। मधेश प्रदेशमा धानपछिको दोस्रो मुख्य बालीको रूपमा गहुँलाई मानिन्छ । तर, समयमा मलखाद र सिँचाइको अभाव हुँदा यस वर्ष मधेश प्रदेशका जिल्लाहरूमा गहुँ उत्पादनमा फरकफरक तथ्यांक देखिएको छ । मधेश प्रदेशको कृषि विकास निर्देशनालयले उपलब्ध गराएको धनुषा, सिरहा, सप्तरी, बारा र पर्साको तथ्यांकअनुसार यी जिल्लाहरूमा उत्पादन फरकफरक देखिएको हो ।

मधेश प्रदेशका ५ जिल्लाको तथ्यांक हेर्दा गहुँ उत्पादनमा कुनै जिल्लामा वृद्धि भएको पाइएको छ भने कुनै जिल्लामा उत्पादनमा ह्रास आएको कृषि विकास निर्देशनालय नक्टाझिजले जनाएको छ । निर्देशनालयका अनुसार यस वर्ष धनुषा जिल्लामा किसानहरूले ३४ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती गरेर १ लाख १५ हजार ६ सय मेट्रिकटन उत्पादन गरेका छन् । यो उत्पादन गत वर्षको तुलनामा १३ दशमलव ३३ प्रतिशतले वृद्धि हो । गत वर्ष धनुषामा ३४ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती हुँदा १ लाख २ हजार मेट्रिकटन उत्पादन भएको थियो ।

त्यसैगरी, सिरहा जिल्लामा यस वर्ष २२ हजार ५० हेक्टर क्षेत्रफलमा गहुँखेती गरेकोमा ५२ हजार ९ सय २० मेट्रिकटन उत्पादन भएको छ । जुन गत वर्षभन्दा १२० मेट्रिकटनले बढी हो । यसैगरी, पर्सा जिल्लामा यस वर्ष २६ हजार ६५ हेक्टर क्षेत्रफल गहुँखेती गरेकोमा ७८ हजार १९५ मेट्रिकटन गहुँ उत्पादन भएको छ । जुन गत वर्षभन्दा यस वर्ष ५ प्रतिशतले घटेको छ । सो जिल्लामा गत वर्ष २६ हजार ६० हेक्टर क्षेत्रफलमा गहुँखेती गरी ७९ हजार ७४३ मेट्रिकटन उत्पादन भएको थियो ।

बारा जिल्लाको तथ्यांक हेर्दा यस वर्ष २९ हजार ७ सय हेक्टर क्षेफलमा गहुँखेती गरेका किसानले ८९ हजार १ सय मेट्रिकटन उत्पादन गरेका छन् । गत वर्ष सोही अनुपातमा बारामा गहुँखेती गरिएको र सोही अनुपातमा उत्पादन भएको निर्देशनालयका सूचना अधिकारी रामकलेश साहले बताए ।

त्यसैगरी, सप्तरी जिल्लामा २९ हजार ४ सय हेक्टर क्षेत्रफलमा गहुँखेती गरेकोमा ७० हजार ५ सय ७० मेट्रिकटन उत्पादन भएको छ । जुन अघिल्लो वर्षभन्दा यस वर्ष १ दशमलव १४ प्रतिशतले वृद्धि भएको देखिन्छ । सो जिल्लामा गत वर्ष २९ हजार ४ सय हेक्टर क्षेत्रफलमा गहुँखेती गरेकोमा ६१ हजार ७४० मेट्रिकटन उत्पादन भएको थियो ।



२०८० वैशाख १२ ०९:४४ बजे

प्रतिक्रिया