१५ दिनपछि उठ्यो सिंहदरबारको फोहोर 

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ११ १७:३८ बजे
सिंहदरबारको फोहोर 

काठमाडौँ। विगत १५ दिन देखी थुपारिएको सिंहदरबारको फोहोर आजबाट उठाउन थालिएको छ । सर्वोच्च अदालतले शुक्रवार काठमाडौँ महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएपछि आज सोमबारबाट फोहोर उठ्न थालेको हो । 

मेयर बालेन्द्र साह(बालेन) फोहोर व्यवस्थापन गर्ने कम्पनीलाई फोहोर नउठाउन भनेपछि २६ चैतदेखि सिंहदरबार क्षेत्रको फोहोर उठेको थिएन ।

महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन खोज्दा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर साहले बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा सिंहदरबारको फोहोर लैजान नदिने अडान राखेका थिए ।

सिंहदरबार क्षेत्रको फोहोर व्यवस्थापनमा समस्या आएपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका थिए । उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरपालिकाका नाममा शुक्रवार आदेश जारी गरेको थियो ।

सिंहदरबारभित्रको फोहोर उठाउने जिम्मा पाएको परिवर्तन सेवा प्रालिका सञ्चालक मित्रप्रसाद घिमिरेले  काठमाडौँको मेयर बालेनले फोहोर उठाउनको लागि ल्याण्डफिल साइटमा कुनै अवरोध नहुने जनाएपछि फोहोर लैजान थालेको बताए ।

 

२०८० वैशाख ११ १७:३८ बजे

प्रतिक्रिया