डोटीका रोचक लोकगित भित्र लुकेको मायाप्रेम

bimbonline नरेन्द्र देवकोटा
२०८० वैशाख १० ०८:२७ बजे

  डोटी।               

                                          केटा- पानीखान्या लोटा छुटि भातखान्या थालछुटि।

                                                  मैले निकै मान्या हुँकि हिराहै लालछुटि।।

यी हरफका सर्जक हुन् डोटी बोगटान गाउँपालिका का (मीन बिक्रम चन्द) । यो लोकगितमा मार्मिक भाव लुकेको देखिन्छ ।

केटाले केटीलाई सम्बोधन गर्दै आफुले प्रेम गरेकी प्रेमीकासँग सँगै बसि एउटै लोटा अंखोरामा पिउने गरेको भाँडा पनि छुट्यो, सँगै बसेर एउटै थालमा भात खाने अवसर  पनि छुट्यो,  मेरो लागि अत्यन्तै मन परेकी हिरा जस्तै थियौ, तिमीसँगको रगत जस्तै गाढा सम्बन्ध थियो त्यो पनि छुट्यो भन्दै लालिगुँरास फुलिरहने यो सिजन काँफल पाक्ने यो ऋतुमा कोइली जस्तै बिरक्तिएर सामजिक सञ्जाल फेसबुकमा यो गित सार्वजनिक गरेका छन् ।

 सामाजिक सञ्जाल फेसबुकमै मीन बिक्रम चन्दको गितको जवाफ  टेकराज साँउदले केटीको तर्फबाट यसरी दिएका छन्-

                                    पानी ठुलो कर्णालीको पाइलको गाउँ ठूलो

                                     उपचार कैलैन हुन्या पिर्थिको घाउ ठूलो । 

अर्थात पहिलो हरफमा वास्तविक अर्थ हुँदैन, दोर्षो पंक्तिको बान्की मिलाउन, रहनी मिलाउनलाई कि त कर्णाली नदीमा बग्ने पानी धेरै छ, अर्थात नदी ठुलो छ, कि त पाइल भन्ने गाउँ ठुलो छ, तर दोर्षो पंक्तिमा लाक्षणिक अर्थ दिनेगरी केटा र केटी बिच मायाप्रेम यति धेरै  गाँजिएर बसेको हुन्छ, जुन प्रेम र पिरति छुटिदिँदा मन मष्तिस्कमानै उपचारै गर्न नसकिने घाउ बन्न सक्ने देखिन्छ।, यस प्रकारको घाउ पिडाले कुनै पनि मानिसलाई कहिलेपनि कुनैपनि कुराले न त खुसि बनाउँछ न त हँसाउन सक्छ, सदावहार एउटा पीडादायी घाउ बनिदिन्छ । टेकराज साउँदको यो लोकगित भित्रको भाव पनि कम मार्मिक छैन ।

                                          केटा ;      ओखति मसंग छैन पिर्तिघाउ भलाउने 

                                                         जन लाया बाउला झल्का हृदय गलाउने ।

                                                            (मिन बिक्रम चन्द ) 

    फेरि केटा बन्दै मीन बिक्रम चन्द अर्को लोकगितको पहिलो हरफमा लेख्छन्आफुसँग त्यस्तो विशेष खालको ओखति या औषधि छैन जसले प्रेम रोग लागेको भलो हुने अर्थात सञ्चो र निको पार्ने कुनै औषधि छैन, भन्दै दोर्षो पंक्तिमा के थप्छन् भने अहँरु नलगाउ अब धेरै झल्का या सम्झना आउनेगरि प्रिति, नजर नलगाउ, सम्झनामा रहने गरि मलाइ हेर्यौर नजर लगायौ भने हृदय मन मस्तिष्क नै गलेर छिया छिया हुनेछु भन्दै यो प्रस्तुतिमा रचनाकारमा प्रेम केहो र प्रेम बाट अलग हुँदा भोग्नु पर्ने कठिन अवस्थाको बोध गराउँदछन् ।

                                                    केटी- रेल चल्लिन् बिजुली बल्लिन् बम्बैका शहर

                                                             कि भुल्ने ओखती दिजा कि दिजा जहर।

                                                                 (टेकराज साउद)

केटीको तर्फबाट टेकराज साउद यसरी जवाफ दिन्छन् -  लोकगितका दुई पाउ अर्थात १४र१४ अक्षरका दुई हरफ मध्ये  पहिलो पंक्तिले दोर्सो पंक्तिको भनाइलाइ साथ दिनलाई बनेको हुन्छ बास्तबिक अर्थ पहिलो पँक्तिले नदिएर दोर्षो पँक्तिले दिएको हुन्छ ।यस गितको दोर्सो पंक्तिले खास अर्थ दिएको छ, यसमा प्रेमिका प्रति कडा रोष वा आवेग पोखिएक‍ोछ,कि त तिमी प्रति गढेको माया भुल्ने औषधि देउ ,सक्दिनौं भने तिमीबिना बाँचेर के साध्य छ,र ? बरु तिम्रो यादमा तड्पेर जिउँदै मर्नु भन्दा जहर देउ त्यो लियो भने बार बार तड्पिनु पर्दैन भनेर भाव ब्यक्त गरेका छन् ।

                                                   केटा - नलाउनु जन्जाले पिर्ति जीउ मात्रै झुलाउने 

                                                              यै देश ओखत्ति छैन मायाजाल भुलाउने  ।

                                                               (मिन बिक्रम चन्द ) 

    यस लोकगितको माथिल्लो पँक्तिमा पँक्तिकार केटा बनेर भन्छन् - कसैले पनि जन्जाले मायाप्रिति नलगाएकै राम्रो ,जुन प्रिति र मायाले जिउ ज्यान मात्रै झुलाउँछ या दुब्लाउँछ, मेहिनत गरि लाएको गाढा मायाजाललाई भुलाउने हामीकहाँ औषधी नै छैन ।मायाप्रेमले छट्पटिदा निको पार्ने औषधी भेटिन्न भने त्यति कडा नशादार प्रेम नगाँसेकै राम्रो भन्ने भाव ब्यक्त गर्दछन्। समग्रमा भन्नु पर्दा हाम्रा गाउँघरमा एकले अर्कोलाई  अर्थात प्रेमीले प्रेमिकालाई लक्षित गरी भनिने यस्ता लोकगित बिगतमा एकान्तमा केटाले केटीलाई र केटिले केटालाई भन्ने गरिन्थे ।

आजभोली सामाजिक सञ्जाल फेसबुक, च्याट, मेसेन्जर, म्यासेज भाइवर हट्सप् रेडियोटिभी एफमआदिका माध्यमबाट मायाप्रीति साँटासाँट गरिनुले एकातिर मनका भाव ब्यक्त भएका छन् भने अर्कोतिर मनमा लागेका कुरा प्रकट गरिनुले मनलाई शान्त पार्न कोसिस गरिएकोछ ।

 यति भन्दै सर्जकहरुबाट प्रत्यक्ष कोहि कसैलाई लक्षित नगरी कसैको मान प्रतिष्ठामा आँच नआउने गरि यसरी लोकगित, लोक भाका प्रस्तुत गरिए हाम्रो लोक साहित्य मजबुत र सुरक्षित हुँदै जाने कुरामा दुई मत छैन ।


२०८० वैशाख १० ०८:२७ बजे

प्रतिक्रिया