काठमाडौं । रुकुमपूर्वमा प्रहरीको भ्यान दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । आज दिउँसो रुकुमकोटबाट पुथाउत्तरगंगा गाउँपालिका जानेक्रममा सोही गाउँपालिकाको वडा नम्बर ११ सेरामा भ्यान दुर्घटना परेको हो ।
प्रहरीका अनुसार भ्यानमा ६ जना सवारमध्ये ३ जना गम्भीर र ३ जना सामान्य घाइते भएका छन् । लु १ झ ६६० नम्बरको प्रहरीको भ्यान दुर्घटनामा परेको हो । गम्भीर घाइते हुनेमा प्रहरी हवल्दार कुमार डाँगी, प्रहरी जवान लक्ष्मण पुन र सन्तोष बुढा रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार घाइतेहरुको उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर मार्फत नेपालगञ्ज पठाइएको छ । प्रहरीको भ्यानमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र श्रेष्ठसहित ६ जनाको सवार रहेको सुनुवारले बताएका छन् ।
प्रतिक्रिया