पदम लिम्बूको शव प्रदर्शनका क्रममा झडप हुँदा ८१ राउन्ड अश्रुग्याँस प्रहार, आन्दोलनकारीद्वारा पेट्रोल बम प्रहार

bimbonline बिम्ब अनलाइन
२०८० वैशाख ९ १६:३४ बजे

विराटनगर । पदम लिम्बूको शव प्रदर्शनका क्रममा झडप हुँदा विराटनगर तनावग्रस्त बनेको छ । अवस्था तनावग्रस्त बन्दा  प्रहरीले ८१ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । निषेधाज्ञा तोड्ने क्रममा झडप भएको हो । झडप सुरु हुनुअगाडि आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार गरेको  प्रहरीले जनाएको छ ।  झडपमा परी तीन जना प्रहरी र ६ जना आन्दोलनकारी घाइते  भएका जनाइएको छ ।  

एक जना प्रहरीको टाउकोमा चोट लागेको कारण न्युरो अस्पताल विराटनगरमा उपचारका लागि लगिएको छ । यस्तै आन्दोलनकारीको तर्फ घाइते भएका झापा शिवसताक्षी नगरपालिका ८ का राजकुमार शेर्माको खुट्टामा चोट लागेको छ । आन्दोलनकारीले उनलाई प्रहरीले रबरको गोली हानेको बताए पनि प्रहरीले भने गोली प्रहार नगरेको जनाएको छ । एसपी पोखरेलका अनुसार निषेधाज्ञा तोड्ने क्रममा उनलाई बारको ब्लेडले काटेको थियो । यस्तै इटहरी २ का डेनिज राई, विराटनगर ८ का चन्द्रकुमार राई पनि घाइते भएका छन् । उनीहरू तीन जनाको विराटनगरस्थित पारस अस्पतालमा उपचार भइरहेको छ ।

कोसी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भइ मृत्युवरण गर्न पुगेका पदम लिम्बू लाजेहाङको शव प्रदर्शन गर्ने क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो ।  पहिचान पक्षधरले कोसी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको वृहत् प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबिच झडप भएको थियो । सोही झडपमा परी लाजेहाङको टाउकोमा चोट लागेको थियो ।

टाउकोमा चोट लागेका उनलाई चैत ८ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिए पनि १० गते उनको मृत्यु भएको थियो । गरिसकेको छ । 

२०८० वैशाख ९ १६:३४ बजे

प्रतिक्रिया