काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक पेटीमा धुवाँ आउने गरी सेकुवा पोल्न रोक लगाएको छ । महानगरपालिकाले काठमाडौँका विभिन्न ठाउँमा सेकुवा पोल्न बन्देज लगाएको हो । महानगरपालिकाले नगर प्रहरी मार्फत पुतली सडक, सिनामंगल क्षेत्रमा सेकुवा पोल्दा वायु प्रदूषण भएको भन्दै रोक लगाउन सुरु गरेको हो ।
आफूहरूले भेट जतिको ठाउँमा सडक र सडक पेटीमै धुवाँ आउने गरी सेकुवा पोल्न बन्द गर्न भनेका महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन् । पुतलीसडक र सिनामंगलमा अरूलाई असर गर्ने गरी सेकुवा पोलेको भेटिएको छ, अन्य स्थानमा पनि भेटिए बन्द गर्न भनेका उनले बताएका छन् ।
महानगरपालिकामा सेकुवाको कारण वायु प्रदूषण भएको, सडक पेटीबाट हिँड्दा यात्रुलाई सास्ती भएको भन्दै कल सेन्टर र वडाहरूमा पनि गुनासो समेत आउन थालेको बन्द गराउन लागिएको महानगरले जनाएको छ ।
महानगरपालिकाले यही सातादेखि सेकुवा पसलहरूलाई सूचित गराउन थालेको हो । महानगरपालिकाका अनुसार सेकुवा पसलेले अरूलाई असर पर्ने गरी धुवाँ निकाले सुरुमा सचेत गर्ने, त्यसपछि पनि नमाने कारबाही नै गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया