दिवेश कुमार महतो,जनकपुरधाम।
नयाँ वर्ष २०८० को सुरुवात सँगै केहि नयाँ गर्नुपर्छु भन्ने हाम्रो मान्यता रहदै आएको छ। सोही कुरालाई मध्यनजर गर्दै धनुषाको धनौजी गाउँपालिका - ५ बहुअर्वामा पुस्तकालयको स्थापना गरिएको छ।
नयाँ वर्ष २०८० अर्थात् वैशाख १ गते शुक्रबारका दिन पुस्तकालयको उद्घाटन गरिएको छ । सामाजिक क्षेत्रमा श्रृजनात्मक कामका लागि स्थापना भएको सामुदायिक सिकाई तथा सामाजिक विकास केन्द्र अन्तर्गत स्थापना भएको पुस्तकालयको उद्घाटन सोही गाँउपालिका का अध्यक्ष राजकुमार साह र वडा अध्यक्ष मो.याकुव कवारीले गर्नुभएको थियो।सामुदायिक सिकाई तथा सामाजिक विकास केन्द्रका अध्यक्ष शिव सागर साहको अध्यक्षतामा भएको सो पुस्तकालय उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पालिका अध्यक्ष साहले पुस्तकालयका लागि चाहिने आर्थिक सहयोग आफ्नो कार्यकालमा नियमित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
गाउँमा पुस्तकालयको स्थापनाले युवाहरुलाई पढाईका साथै सकारात्मक काम प्रति जागरुक बनाउन सहयोग पुग्ने र गरिबी का कारण किताब किन्न नसकेर लोकसेवा, खरिदार लगायत उच्च शिक्षा हासिल गर्न समस्या भइरहेकोले पुस्तकालय स्थापनाको आवश्यकता रहेको र यसका लागि तिनवटै सरकार सँग समन्वय र सहकार्य गरेर पुस्तकालय को विकासको लागि अग्रसर रहने कुराहरू सहभागी अतिथिहरुले आफ्नो धारणा राख्नदै जोड दिएका थिए।
सामुदायिक सिकाई तथा सामाजिक विकास केन्द्रका सचिव का अनुसार अहिले तत्कालका लागि साझा प्रकाशन तथा स्थानीय स्तरमा संकलन गरेर पुस्तकालय स्थापना गर्ने र अगामी दिनहरूमा सो पुस्तकालयमा बाँकी पुस्तक तथा पत्रिकाको व्यवस्थापन गरिने जानकारी दिनुभयो । पुस्तकालय उद्घाटन पछि सो परिसरमा बृक्षारोपण समेत गरिएको छ।
सामाजिक सचेतनाका साथै जनहितका लागि काम गर्ने उद्देश्यले स्थापना भएको सामुदायिक सिकाई तथा सामाजिक विकास केन्द्रले अगामी दिनमा पुस्तकालयलाई व्यवस्थित बनाउनुका साथै सामाजिक क्षेत्रमा थप श्रृजनात्मक काम गर्ने सचिव महतोले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा समाजसेवी, बुध्दिजिवि, नागरिक अगुवा, राजनितिक दलका प्रतिनिधिहरु, प्रहरी चौकीका प्रतिनिधि सहित नगरवासीहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया