मालाखेती अस्पतालमा मृत्यु भएकी सुत्केरीको परिवारलाई ५ लाख दिने सहमति

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २९ २१:३९ बजे
मालाखेती अस्पताल

काठमाडौं । कैलालीको मालाखेती अस्पतालमा मृत्यु भएपछि पीडितहरूले अस्पतालको कारणले सुत्केरी र बच्चाको मृत्यु भएको भन्दै अनुसन्धानको माग गरेका थिए । जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो। पीडितहरूले आन्दोलन गरेपछि शिवराज जोशीको नेतृत्वमा छानबिन समिति गठन  गरिएको हो ।  छानबिन समितिले  सुत्केरीको परिवारलाई ५ लाख क्षतिपूर्ति दिइने सहमति  गरेको छ । 

नवजात शिशुसहित मृत्यु भएकी सुत्केरी लक्ष्मी भट्टराईको परिवारलाई पाँच लाख रुपैयाँ, एक सन्तानलाई आवाससहितको माध्यमिक शिक्षासम्मको अध्यापन तथा लापरबाही गर्ने चिकित्सकलाई  कारबाही गर्ने सहमति भएको जनाइएको छ ।  

संयोजक शिवराज जोशीले सहमति भएपछि शिशुसहित महिलाको शव धनगढी ल्याउने  भएको जनाइएको छ । बुधवार पीडित परिवार, प्रहरी, गोदावरी नगरपालिकाका जनप्रतिनिधि र छानबिन समितिले उक्त सहमति गरेको हो। समितिमा सेती प्रादेशिक अस्पतालका दुई जना चिकित्सक, स्वास्थ्य निर्देशनालयका एक जना कर्मचारी र एक जना पीडित पक्षबाट सदस्य छन्।

के थियो घटना ? 

कैलाली जिल्ला गोदावरी नगरपालिका २ २८ वर्षीय गर्भवती लक्ष्मी भट्टराई सुत्केरीका लागि  आइतबार मालाखेती अस्पताल पुगिन् । भोलिपल्ट अस्पतालले गर्भवती  आमा र शिशु दुवैको मृत्यु भएको बतायो ।  सामान्य सुत्केरी व्यथाले च्यापेकी  लक्ष्मीको  सोमबार बिहान पेटबाट बच्चा निकाले पछि  दुवैको मृत्यु भएको थियो ।  बच्चा निकालेको केहि बेरमा मृत्यु भएको  भन्दै उनका श्रीमान  शिवराज भट्टराईले अस्पतालको लापरबाहीको कारण बच्चा र आमाकाे  मृत्यु भएको भन्दै छानबिन हुनुपर्ने माग राखे  । 

अस्पताल र चिकित्सकहरूको लापरबाहीका कारणले बिरामीको ज्यान गएको भन्दै पीडित र स्थानीयले मङ्गलवार अत्तरिया बजार क्षेत्रमा विभिन्न कार्यक्रम र नाराबाजी पनि गरे । अस्पतालका डा. अन्वेश कोइरालाले भने सामान्य अवस्थामा बच्चा जन्मे पनि पाठेघरमा भएको पानी फोक्सोमा परेर उनको ज्यान गएको  बताए । मङ्गलवार पीडितहरूको आन्दोलनले अस्पतालका सबै सेवाहरू ठप्प भए ।  पीडितहरूले  अस्पतालको लापरबाहीले आमा र शिशुको मृत्यु भएको भन्दै चिकित्सक र घटनामा संलग्न स्वास्थ्यकर्मीलाई कारबाहीको माग गरे ।

२०७९ चैत्र २९ २१:३९ बजे

प्रतिक्रिया