वाझो जग्गामा फलफुल खेति

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २८ ०९:१८ बजे

वाग्लुङ  ढोरपाटन । युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन बनमाराले ढाकिएका छन् । गाउँ सुनसान छन्, गाउँमा बस्ने पनि रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका छन् ।गाउँघरमा कुनै अवसर नदेखेर विदेश पलायन हुने तथा बजार झर्नेलाई अहिलेसम्म गाउँमै रोक्न कुनै पनि निकायले सकेका छैनन् । बागलुङको तमानखोला गाउँपालिकाले भने यस वर्षदेखि बाँझो जमिनको सदुपयोग गरी स्थानीयलाई गाउँमै रोकी आयआर्जनसँग जोड्न फलफूल खेती गर्न थालेको छ ।

गाउँपालिकाले यस वर्षदेखि बाँझो तथा खाली जमिनमा फलफूल खेती गर्न सुरु गरेको हो । चालु आर्थिक वर्षमा वडा नं ४ मा पन्ध्र सय फलफूलका बिरुवा लगाइएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए । थोरै मेहनतबाट राम्रो उत्पादन दिने ओखर, स्याउ, उन्नत प्रजातिका आरु र किवीका बिरुवा लगाइएको उनको भनाइ छ । पालिकाले कृषकलाई फलफूल खेतीतर्फ आकर्षित गर्ने गरी ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा उपलब्ध गराएको अध्यक्ष बुढामगरले बताए ।

हिउँदे र बर्खे गरी दुई सिजनमा बिरुवा उपलब्ध गराउने गरी पालिकाले बजेट विनियोजन गरेको गाउँपालिकाका कृषि शाखा प्राविधिक सन्देश पराजुलीले बताए । पहिलो चरणमा हिउँदे सिजनमा लगाउने बिरुवा उपलब्ध गराइसकिएको भन्दै अब बर्खे सिजनमा लगाउने बिरुवा जेठ महिनामा उपलब्ध गराइने पराजुलीको भनाइ छ ।

‘अमिलो र फलफूल उत्पादन हुनसक्ने वातावरण र हावापानी भएको सम्भावना देखेर हामीले यो प्रयास गरेका छौँ’, उनले भने, ‘यहाँका केही कृषकले दुई वर्ष पहिले लगाएको स्याउको बिरुवा हुर्किसकेको र अबको एक–दुई वर्षमा उत्पादन दिन सक्ने देखिएको छ, यसले गर्दा पनि यहाँको हावापानीमा फलफूल खेती राम्रो हुने सम्भावना धेरै छ ।’



२०७९ चैत्र २८ ०९:१८ बजे

प्रतिक्रिया