काठमाडौँ । गुन्डा नाइके एमाले युवा सँधका नेता चक्रे मिलन (मिलन गुरुङ)को सहयोगीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज स्थित एक होटेलमा हतियार प्रदर्शन गरेको आरोपमा गणेश बहादुर बोगटीलाई पक्राउ गरिएको बाँकेका एसपी सन्तोष सिंह राठौरले बताए । सामाजिक सञ्जाल (टिकटक)मा बोगटीले ‘पोइन्ट टुटु’ हतियार बोकेर हिँडेको भिडियो पोस्ट गरेका थिए । बोगटी नेपालगन्जकै स्थानीय हुन् । नेकपा एमालेको युवा सङ्गठन राष्ट्रिय युवा सङ्घको महाधिवेशनमा भाग लिन गएका चक्रे मिलनसँग बन्दुक बोकेर हिँडेको भिडियो बोगटीले पोस्ट गरेका थिए । सो दृश्य नेपालगन्जको एक होटेलको हो ।
प्रारम्भिक अनुसन्धानबाट सो हतियारको लाइसेन्स भएको थाहा भएको छ । लाइसेन्स भए पनि प्रदर्शन गर्न नपाइने हुनाले सरकारी वकिल कार्यालयसँग राय लिएर मुद्दा अघि बढाइने एसपी राठौरले जानकारी दिए । नेपालगन्जमा युवा सङ्घको महाधिवेशन जारी छ । बोगटी बाँकेको चिसापानीबाट पक्राउ परेका हुन् ।
प्रतिक्रिया