कक्षा ८ छात्रालाई अश्लील सामग्री देखाउने शिक्षकलाई एक वर्ष ३ महिना कैद

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र २७ १५:२७ बजे
कैद

काठमाडौं । छात्रालाई अश्लिल सामग्री देखाएको भन्दै जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक शिक्षकलाई एक वर्ष तीन महिना कैद जरिवानाको फैसला सुनाएको छ । बालयौन दुर्व्यवहार अभियोगमा विष्टलाई अदालतले कैद तथा जरिवानाको फैसला सुनाएको हो ।

जिल्ला अदालत काभ्रेपलाञ्चोक प्रमुख जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले महाभारत गाउँपालिका-३ स्थित सिद्देश्वर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक देविन्द्रकुमार विष्टलाई एक वर्ष तीन महिना कैद र  १५ हजार जरिवाना गर्नुका साथै चार सय पीडित राहतकोषमा जम्मा गर्न  आदेश दिएको छ ।  

त्यस्तै अदालतले पीडित २७ बालबालिकालाई जनही रु १० हजारका दरले क्षतिपूर्ति भराउन समेत आदेश गरेको छ । अनुसन्धानका क्रममा कक्षा ८ मा अध्ययनरत छात्रछात्रालाई विष्टले आफ्नो मोबाइलबाट कक्षाकोठामै यौनजन्य अश्लील भिडियो देखाएको पुष्ठि भएको हो । धरौटीमा रिहा गरिएका विष्ट हाल फरार रहेका छन् । 

२०७८ फागुन १२ गते भएको उक्त घटनामा संलग्न शिक्षकले पाठ्यक्रमसँग सम्बन्धित सामग्री विद्यार्थीलाई देखाएको बयान दिएका थिए ।  प्रहरीले उनको खोजी कार्य गरिरहेको छ । 

२०७९ चैत्र २७ १५:२७ बजे

प्रतिक्रिया