काठमाडौं । नक्सापास विना नै निर्माण कार्य सुरु गरिएको ललितपुरको बखुन्डोलस्थित समिट अपार्टमेन्टको जग खन्दा वरपरका घर भासिएका छन् । वरापरीका घरहरू भासिँदा स्थानीय मर्कामा परेका छन् । अपार्टमेन्ट नजिकको एउटा घर पूर्ण रूपमा ढलेको छ भने चारवटा घर चर्किएका छन् ।
घरमा क्षति भएपछि कोही आफन्तको शरणमा पुगेका छन् भने कोही होटेलमा बस्न बाध्य भएका छन् ।
करिब १८ रोपनी जग्गामा निर्माणाधीन बहुतले अपार्टमेन्टको जग खन्न एक महिनाअघि सुरु भएको थियो । तर, निर्माण कम्पनीले साँध–सँधियारसँग छलफलसम्म पनि गरेन । अपार्टमेन्ट बन्दै गरेको जमिनको माटो र वातावरणीय परीक्षणसमेत गरेको छैन । कानुनतः भवन निर्माणअघि सम्बन्धित स्थानीय तहबाट अनिवार्य रूपमा नक्सा पास गराउनुपर्छ । संरचना निर्माण गर्दा अनिवार्य रूपमा माटो तथा वातावरणीय परीक्षण पनि गराउनुपर्छ हुनछ । त्यस्तै, निर्माण कम्पनीले आसपासका छिमेकीको स्वीकृति लिनुपर्ने हुन्छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले समिट अपार्टमेन्ट निर्माण गर्ने उद्देश्यले कसैले पनि महानगरपालिकासँग नक्सा पास नगरेको बताए । समिट अपार्टमेन्टको जग खन्दा आसपासका घर भासिएको खबर आफूले पाएको मेयर ले बताएका छन् । अपार्टमेन्ट कम्पनीले नक्सा पास नगरेर निर्माण कार्य थालेको उनले बताएका छन् ।
स्थानीयहरूका अनुसार जग खन्न सुरु गर्दा नै आवश्यक सुरक्षा अपनाउन निर्माण कम्पनीलाई पटकपटक भनेका थिए । तर, निर्माण कम्पनीले स्थानीयलाई बेवास्ता गर्दै जग खन्ने कामलाई निरन्तरता दिएको थियो । मेयर महर्जनले भत्किएका घर अपार्टमेन्ट निर्माण कम्पनीले नै बनाइदिनुपर्ने र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने बताए । यसका लागि महानगरपालिकाले आवश्यक कानुनी कारबाही तत्काल अघि बढाउने र घटनाको छानबिन गर्ने उनको भनाइ रहेको छ ।
प्रतिक्रिया