वैदेशिक रोजगार बोर्डले आजदेखि दिने स्वास्थ्य परामर्श सेवा यसरी लिन सकिन्छ

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १५ ०९:२९ बजे
स्वास्थ्य परामर्श सेवा

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकका लागि सरकारले आजदेखि स्वास्थ्य परामर्श सेवा सञ्चालन ल्याउन लागेको छ ।  पूर्णतया निःशुल्क रहेको यो सेवा आज बिहान १० बजेदेखि  सञ्चालनमा आउन लागेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २ फागुनमा टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेपछि वैदेशिक रोजगार बोर्डले आजदेखि परामर्श सेवा दिन लागेको हो । सेवा प्रवाहका लागि वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँग सम्झौता गरिसकेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकताअनुसार समयमा नै सल्लाह, सुझाव र परामर्श सेवा उपलब्ध गराउने गरी सेवा दिन लागिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।  सार्वजनिक विदाका दिनबाहेक नेपाली कार्यालय समय बमोजिम सेवा प्रवाह गरिने भएको छ । यो सेवा लिन चाहने नेपाली श्रमिकले मोबाइल नम्बर ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, हवाटस एप वा इमो लगायतका सामाजिक सञ्जालबाट फोन गर्न सक्नेछन् ।

यो वर्ष अनलाइनमार्फत सेवा दिइने र सेवा प्रभावकारी भए अर्को वर्षदेखि गन्तव्य मुलुकमा नै गएर सेवा दिने योजना रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । 

कल टेलिमेडिसिनका मेडिकल अधिकृतले रिसिभ गरेर बिरामी कामदारलाई विशेषज्ञ सेवा आवश्यक परेमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराउनेछन् । विशेषतः आइतबार र शुक्रबार गन्तव्य मुलुकमा सार्वजनिक विदा पर्ने भएकाले सो दिनमा नै विशेषज्ञ सेवा उपलब्ध गराउन खोजिएको बोर्डले जनाएको छ ।

सेवा लिने श्रमिकको प्रेस्क्रिप्सन अनलाइनमार्फत उपलब्ध गराइने छ । सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्डले नै व्यहोर्ने छ । यो सेवा पूर्णतः निःशुल्क रहने बोर्डले जनाएको छ ।

२०७९ चैत्र १५ ०९:२९ बजे

प्रतिक्रिया