मिटर ब्याज पीडितहरूको आन्दोलन भद्रकालीमा हुँदै संसद् भवन, के गर्दै छ सरकार ?

विभिन्न राजनीतिक पार्टीहरूकाे पनि मिटर ब्याजी पीडितको आन्दोलनलाई ऐक्यबद्धता

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १४ १०:४४ बजे
मिटर ब्याज पीडित

काठमाडौं । विभिन्न ठाउँबाट आएका मिटर ब्याज पीडित अहिले काठमाडौँबाट सरकारलाई आफ्ना मागहरू सम्बोधन गर्न दबाब दिईरहेका छन् । गृह सचिव विनोद प्रकाश सिंहले न्याय दिलाउन सरकारले आवश्यक कदम चालेको भन्दै मिटर ब्याज पीडितलाई धर्नाका कार्यक्रम स्थगन गर्न आग्रह गरेका छन् । मंगलबार धर्नास्थल टंगाल पुगेर पीडितलाई भेटेका सचिव सिंहले धर्ना स्थगित गर्न आग्रह गरेका हुन् ।

गृह सचिवसँगको भेटमा आफूहरूले प्रधानमन्त्रीलाई भेटेर पीडा सुनाउन चाहेको संघर्ष समितिका संयोजक मनोज पासवानले बताएका छन् । गृहसचिवले आफूहरूसँग माग पत्र मागेको तर सोमबार राति प्रहरीले धरपकड गर्दा माग पत्र हराएका कारण दिन नसकेको पासवानले बताए ।

संघर्ष समितिको समन्वय गरिरहेका सन्तोष दाहालका अनुसार पीडित माथि चलेका मुद्दा तत्काल यथास्थितिमै रोक्ने निर्णय गरे मात्रै वार्ता हुने शर्त पनि गृहसचिवसँगलाई राखिएको छ । दाहालकाअनुसार अब धर्नाको कार्यक्रम भद्रकालीमा र त्यसपछि नयाँ बानेश्वरमा संसद् भवन अगाडि हुने छ ।

काठमाडौंमा आएका पीडितहरूलाई काठमाडौं महानगरले रत्नपार्कमा रहेको खुल्ला मञ्चमा आन्दोलनका कार्यक्रम गर्न नदिएपछि पीडितहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन विरुद्ध पनि नारावाजी गरेका थिए । विभिन्न राजनीतिक पार्टीहरूले पनि मिटर ब्याजी पीडितको आन्दोलनलाई ऐक्यबद्धता जनाएका छन् । नेकपा मशाल , नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमत सम्बद्ध तिन किसान  सङ्गठनले  मिटर ब्याज पीडितहरूप्रति ऐक्यबद्धता जनाउदै स्वागत  गरेका छन् ।  

२०७९ चैत्र १४ १०:४४ बजे

प्रतिक्रिया