सवारी शब्द सामन्तवादको प्रतीक हो : राष्ट्रपति रामचन्द्र

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र १२ १५:२९ बजे
राष्ट्रपति रामचन्द्र पौडेल

काठमाडौं । ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थल गोरखाको गोरखनाथ र गोरखकाली मन्दिरमा दर्शनका लागि  त्यहाँ पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले सवारीको सट्टा भ्रमण शब्द प्रयोग गर्नु राम्रो हुने बताउनुभएको छ । 

उहाँले भन्नुभयो , ‘‘सवारी शब्द अन्य गाडी वा यातायातका सन्दर्भमा प्रयोग गरेपनि भ्रमणको सन्दर्भमा यसलाई प्रयोग नगरौँ, बरु ‘आवागमन’ शब्द प्रयोग गरे हुन्छ । कुनै ठेट नेपाली शब्द प्रयोग गरे हुन्छ, यो अरबी, फारसी शब्द हो ।’’ 

सवारी शब्दले सामान्तवादको प्रतीक जस्तो रूप लिएको हुनाले यसको सट्टा भन्दा सरल शब्द प्रयोग होस् भन्ने आफूले चाहेको उहाँको भनाई रहेको छ । सङ्घीय गणतन्त्र नेपालको राष्ट्रपति भूमिका र जिम्मेवारी बारे आफू जानकार रहेको बताए । 

हेलिकोप्टर मार्फत बिहान ९ः३० बजे गोरखाको ऐतिहासिक गोरखा दरबार  पुगेका उहाँले गोरखकाली मन्दिर र गोरखनाथ गुफामा गरी झण्डै ४५ मिनेट पूजाआजा गर्नु भएको थियो । 

त्यसपछि गोरखाको ठूलो आँगन र गोरखा संग्रालय परिसरमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नु भएको थियो । ऐतिहासिक गोरखा सङ्ग्रहालयको अवलोकन गर्नुका साथै उहाँले त्यहाँ उपस्थित शुभेच्छुक र सर्वसाधारणलाई सम्बोधन समेत गर्नु भएको थियो । 

नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएपछि काठमाडौँ बाहिरको  उहाँको  यो पहिलो भ्रमण हो । उहाँ यो भ्रमणबाट आफु खुसी रहेको बताएका छन् । वर्तमान नेपाल निर्माणका पृथ्वीनारायण शाह, बिस्से नगर्जी, रामशाह जस्ता वीरको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उहाँहरूको योगदानको चर्चा समेत गर्नु भयो । 

२०७९ चैत्र १२ १५:२९ बजे

प्रतिक्रिया