कोशी प्रदेशको नामाकरणको विषयमा असहमति जाहेर गर्दै आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति गठन

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ११ १६:१५ बजे
गृह मन्त्रालय

काठमाडौँ । कोशी प्रदेशको नामाकरणको विषयमा असहमति जाहेर गर्दै आन्दोलनरत पक्षसँग वार्ताका लागि नेपाल सरकारले वार्ता समिति गठन गरेको छ।

सरकारले प्रधानमन्त्रीको निर्देशनबमोजिम गृह मन्त्रालयले सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय वार्तासमिति गठन गरेको हो।शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आन्दोलनरत पक्षसहित बसेको बैठकले वार्तासमिति गठन गरेको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर भइरहेको आन्दोलन र आन्दोलनको क्रममा पदम लिम्बुको निधन भएकोमा दुख व्यक्त गर्दै वार्ताबाटै समस्याको समाधानका खोज्न आग्रह गरेका हुन् । 

एक नम्बर प्रदेश नामाङ्कन संयुक्त संघर्ष समितिको ब्यानरमा आन्दोलनको नेतृत्व गरिरहेका नेपाल आदिवासी जनजाति महासङ्घ, किरात राई यायोक्खा, किरात याक्थुम चुम्लुङ, नेपाल शेर्पा संघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात धर्म तथा साहित्य उत्थान मञ्च लगायतका सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरू बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट समस्या समाधान गर्न अपील गरेका छन् ।

भेटमा सरकारको तर्फबाट सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारप्रविधि मन्त्री रेखा शर्मा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागी र गृहसचिव विनोद सिंह उपस्थित थिए ।

भेटमा प्रधानमन्त्रीले आन्दोलनको क्रममा भएको पदम लिम्बुको निधनप्रति दुख प्रकट गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने, सहिद घोषणा र पीडित परिवारलाई राहत प्रदान गर्न आवश्यक पहल गर्ने तथा प्रादेशिक नामाकरणको विषयमा राजनीतिक तहमा वार्ता र सम्वादको माध्यमबाट समस्या समाधान गर्न सकिने बताए ।

२०७९ चैत्र ११ १६:१५ बजे

प्रतिक्रिया