युद्ध अन्त्य गर्न सक्ने पुटिनको सङ्केत

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ८ ०८:५४ बजे
पुटिन

काठमाडौं । युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।पश्चिम र किएभ तयार भएपछि मात्र ती योजना कार्यान्वयनका लागि अघि सार्न सकिने उनको भनाई रहेको छ ।

रुसी राष्ट्रपतिले मङ्गलवार मस्कोमा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग द्वन्द्व र दुई देशबीचको सम्बन्धबारे छलफल गरेका थिए। बाह्र बुँदाहरू सूचीबद्ध योजनामा कुनै विशेष सर्त बिना शान्ति वार्ता र राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्न सुझाव दिइएको छ।

युक्रेनले कुनै पनि वार्ताका लागि रुसले आफ्नो भूभाग छोड्नु पर्ने बताएको छ। तर रुस त्यसो गर्न तयार भएको सङ्केत देखिँदैन।अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सोमवार युक्रेनी भूभागबाट रुसी सेनालाई हटाउनेबारे केही उल्लेख नगरी युद्ध विराम आह्वान गर्नुले रुसको जितलाई अनुमोदन गर्न बल पुर्‍याउने' बताएका थिए।

सीसँगको बैठक सकिएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा पुटिनले भने 'चिनियाँ शान्ति योजनाका धेरै प्रावधानहरूलाई युक्रेनमा द्वन्द्व समाधानको आधारका रूपमा लिन सकिन्छ। तर त्यसका लागि पश्चिम र किएभ तयार हुनुपर्छ'

तर रुसले युद्धको दोस्रो पक्षबाट यस्तो 'तत्परता' देख्न नसकेको उनले बताए।चीन र रुसले जारी गरेको संयुक्त विज्ञप्तिमा दुई देशबीचको साझेदारी अन्तर्गत 'सैन्य-राजनीतिक गठबन्धन' नगरेको जनाइएको छ।यो सम्बन्ध 'गुटबन्दी नगर्ने, आक्रामक नहुने र तेस्रो देशविरुद्ध निर्देशित नहुने' उनीहरूले बताएका छन्।

पुटिनले पत्रकार सम्मेलनमा पश्चिमले 'पारमाणविक अवयव'सहित हतियारहरू तैनाथ गरेको आरोप समेत लगाए। उनले यूकेले युरेनियम निर्मित गोला बारुद युक्रेनमा पठाए रुस त्यसको प्रतिक्रिया जनाउन बाध्य हुने चेतावनी दिए।

यूकेको रक्षा मन्त्रालयले भने युरेनियमको पारमाणविक अस्त्रसँग कुनै सम्बन्ध नभएको जनाएको छ। सीले मस्कोमा पुग्दा आफू 'अत्यन्त खुसी' भएको र राष्ट्रपति पुटिनसँगको वार्ता 'स्पष्ट, खुला र मैत्रीपूर्णु भएको बताए।

अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको केही दिनमा यो भेटघाट भएको हो।सी मस्को पुगेको भोलिपल्ट जापानी प्रधानमन्त्री फुमिओ किशिदा आकस्मिक भ्रमणमा किएभ पुगेका छन्। दोस्रो विश्वयुद्धपछि कुनै पनि जापानी प्रधानमन्त्री युद्धग्रस्त देशमा गएको यो पहिलो पटक हो।

२०७९ चैत्र ८ ०८:५४ बजे

प्रतिक्रिया