युट्युबरको बार्गेनिङले तनावमा ऋषि धमला

bimbonline बिम्ब अनलाइन
२०७९ चैत्र ५ १९:५९ बजे

काठमाण्डौ चैत्र ५ गते। टेलिभिजनकर्मी ऋषि धमला र आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबाबीचको ‘लफडा’मा छिरेर केही युट्युबरले पैसा ‘बार्गेनिङ’ गरेको खुलासा भएको छ । 

हालै युट्युबमा सार्वजनिक अडियोअनुसार, एक युट्युबरले धमलासँग लाखौँ रुपैयाँ मागेको खुलेको हो । आफूलाई पत्रकार बताउने मनोजकुमार महतो उर्फ मनोज मानव नामका युट्युबरले धमलालाई गोप्य भिडियो सार्वजनिक गर्ने धम्की दिँदै ‘ब्ल्याकमेलिङ’ गरेको अडियोबाट आएको छ। । सिराहाका महतो काठमाडौंमा स्टार अनलाइन टीभी नामको युट्युब च्यानलका लागि भिडियो बनाउँछन् । 

आफूलाई पीडित बताउने शर्मिलासँगको संवादमा युट्युबरले पैसा पाएको आधा घण्टामै युट्युबबाट भिडियो डिलिट गरिदिने बताएका छन् । ‘भिडियो नहाली धमलाले टेर्दैन क्या । सबुतसहित हाल्दिऊँ न सिध्याइदिऊँ । त्यसले आखिर तपाईंलाई केही गर्ने होइन’, मनोजले यति भनेपछि शर्मिलाले ‘भिडियो हालेर समाधान छ त ?’ भनेर साधेकी छन् । 

जवाफमा मनोजले भनेका छन्, ‘आधा घण्टामा उडाइदिऊँला नि त्यो भिडियो । फेरि म सबै ठाउँबाट डिलिट गर्न लागाइ दिन्छु नि पैसा पाएपछि । तर एउटा सबुत पनि चाहियो क्या, केही न केही ।’

आफूलाई जनयुद्धुको घाइते दाबी गर्ने नरनाथ गौतम नामका व्यक्तिले समेत धमलासँग ‘बार्गेनिङ’ गरेको भिडियो सार्वजनिक भएको थियो । ‘शर्मिला वाइबासँगको सेक्स भिडियो म सम्म आइपुग्यो, के गरौँ’ भन्दै उनले धमलालाई फोन गरेका थिए । पछि उनले आफूले धमलालाई जानकारी मात्रै गराएको बताएका थिए । 

यसले के देखाउँछ भने केही युट्युबरले धमला र शर्मिलाको व्यक्तिगत विवादमा छिरेर ‘बार्गेनिङ’ गरिरहेका छन् । तीन दिनअघि फेसबुक लाइभमार्फत शर्मिलाले आफूहरूबीचको विवादमा पसेर युट्युबरहरूले पैसा मागिरहेको बताएकी थिइन् । विवाह गर्छु भनेर धमलाले आफूसँग सम्बन्ध बनाएको आरोप लगाएकी वाइबाले लगत्तै बोली फेर्दै आफूहरूबीच लेनदेनको विवाद मात्रै रहेको बताएकी थिइन् । धमलाले पनि विवाद लेनदेनको मात्रै भएको बताएका छन् । यसबीचमा गोप्य भिडियो हाल्दिने धम्की दिँदै युट्युबरदेखि आफूलाई अभियन्ता दाबी गर्ने कतिपय व्यक्तिसम्मले धमलासँग बार्गेनिङ गरेका हुन् । यिनिहरुले पनि  ऋषि धमलाको सिक्को गर्दै आएको वताइन्छ।



२०७९ चैत्र ५ १९:५९ बजे

प्रतिक्रिया