अपूर्ब संकटमा राष्ट्रिय स्वाधिनता , लोकतन्त्र र आवश्यकता

लोकतत्र जनताका नाममा केही टाठाबाठाहरुले सञ्चालन गर्ने संकीर्ण र अन्ध स्वार्थप्रेरित शासन पद्धतिमा बद्लिएको छ । निर्वाचनहरु त्यस्तै टाठा बाठाहरुको सत्ता नबिकरण गर्ने महँगो माध्यम मात्र बन्ने गर्दै आएका छन्

bimbonline लोकनारायण सुवेदी
२०७९ फागुन ३० ०८:५६ बजे

चौतर्फीरुपमा आज हाम्रो देश अभूतपूर्व संकटबाट गुज्रिरहेको छ । यसका पछाडि राष्ट्रिय र अन्तर्राष्ट्रिय तत्कालीन र दीर्घकालीन अनेक कारण रकारकहरु छन् । तिनलाई राम्रोसँग नकेलाई र उचित निराकरण ननिकालीकन गम्भीरतम् संकटमा परेको हाम्रो राष्ट्रिय सार्वभौमिक अखण्डता,लोकतन्त्र र जनजीबिकाका कुनै समस्याको समाधान र देश जनताको  पुनरोद्धार हुन सक्तैन ।तर यो कुरालाई देशका शासक तथा सञ्चालकरुले आत्मसात गरेर आफ्नो भ्रष्ट आचरण सुधार्ने र जनतालाई विश्वासमा लिने काम गर्न तयार नभएसम्म जनता र राष्ट्रलाई अरु जे जस्ता कुरामा आश्वस्त पार्न खोजे पनि त्यो तिर्खाएको मृगलाई मरुभूमिमा पानीको आशामा दौडाने ‘मृग मरीचिका’ जस्तो छलछाम बाहेक अरु केही हुदैन । यो अहिलेसम्मको एकदमै अनुभवसिद्ध यथार्थ कुरा हो ।यस सन्दर्भमा उदाहरणका लागि भन्नु पर्दा भारत सरकारले लामो समयदेखि नेपालको भूमिलाई अतिक्रमण गर्दै आएर पछिल्लो समय जसरी जबर्जस्ती आफ्नो नक्शामा समाबेश गरेको छ र भारतकै हो भन्ने अबाञ्छित अड्डी लिइरहेको छ त्यसलाई सुगौली सन्धि, लगायत अन्य तमाम प्रमाणिक कागजात र सीमानदीको मूल जलाधारले भारतले दाबी गरको र नक्शामा समाबेश गरेको भूमि नेपालको हो भन्ने सहजै पुष्टी र प्रमाणित गर्दछन् । तर ब्रिटिस साम्राज्यबादकालीन प्रबृत्ति र बिरासतबाट चलेको भारतीय शासक बर्गले न नेपालको लोकतान्त्रिक पद्धतिलाई मनैभित्रबाट सम्मान गर्ने गरेको छ न हाम्रो स्वाधीन, स्वतन्त्र र  दुइ ठूला देशको बीचमा रहेको सानो देशको सार्वभौमिकतालाई नै । बरु यसलाई जबर्जस्ती च्याप्ने र हाम्रो देशको सार्बभौमिक अखण्डतामाथि नाङ्गो हस्तक्षेप गर्ने गरेको यथार्थ छ । यद्यपि भारतप्रति नेपाल सदा सर्बदा शदासयतापूर्ण व्यवहार गर्दै आएको र यस्तै ब्यवहार भारतले पनि गरोस भन्ने शतत चाहेको छ ।

अर्कोतिर  बिश्व महाशक्ति चीनसँगको टक्करमा नेपाललाई समेत झोस्ने हिसाबले नेपालमा जसरी एमसीसी नेपाललाई जबर्जस्ती अनुदान क्योच्याएर प्रवेश गरेको र चल्न उद्यत भएको छ त्यसले नेपाललाई महाँसंकटको भुवरीमा धकेलिरहेको छ । हाम्रो सार्वभौमिकता, स्वतन्त्रता, असंलग्न परराष्ट्र सम्वन्धलाई तहस नहस पार्ने हिसावले नेपालमा  अपूर्ब अमेरिकी प्रबेशको उदेश्य एकातिर चीन बिरुद्ध नेपाललाई अखडा बनाउने हिसाब किताबको छ भने अर्कोतिर नेपालका बहुमूल्य खनिज पदार्थ र जैबिक बिबिधतामाथि पनि आँखा गाडेको प्रतीत हुन्छ । भारत र अमेरिको नेपालमाथि यस्तो अबाञ्छित, लोकतान्त्रिक मूल्य मान्यता, सार्वभौमिक अखण्डता र स्वाधीनता बिपरीतका डरलाग्दा गतिबिधिको परिप्रेक्षमा नेपालका सबै सच्चा राष्ट्रप्रेमी, लोकतन्त्रप्रेमी क्रान्तिकारी बाम–लोकतान्त्रिक शक्तिहरुले गम्भीरतमरुपमा सोचेर खडा हुनु पर्ने आजको टट्करो र गम्भीर आवश्यककता बन्न गएको  छ। 

आज यस सन्दर्भमा के उल्लेख गर्नु सान्दर्भिक होला भने लोकतन्त्रको पुरानो परिभाषा जे जस्तो भए गरिए पनि त्यो आज व्यवहारमा बेग्लैरुपमा परिभाषित र अभिब्यक्त भइरहेको छ देखिदै आएको छ । लोकतन्त्रको आत्मा जुन समानता, स्वतन्त्रता र भ्रातृत्व मानिन्थ्यो आज त्यो मृृत प्राय बन्न पुगेको छ । अनि जुन जनताले, जनताका लागि जनताद्वारा शासन गरिने पद्धतिलाई हिजो लोकतन्त्र भनिन्थ्यो र यसलाई त्यसै मूल्य पद्धति अनुरुपको मानिन्थ्यो । बास्तबमा यसै स्थापनालाई मूर्त रुप दिनका निमित्त विश्वमा ठूल्ठूला युगान्तकारी परिबर्तनका आन्दोलनहरु पनि भए । तिनको आज घोर अपमान भइरहेको छ ।  त्यस्ता अत्यन्तै महत्वपूर्ण आन्दोलनमध्येका उल्लेखनीय र बिश्वब्यापीरुपमा चर्चित जन आन्दोलनहरुमा फ्रान्सेली राज्य क्रान्ति, बेलायतको औद्योगिक क्रान्ति, अमेरिकी स्वतन्त्रता संग्राम, महान् अक्टोबर समाजवादी क्रान्ति, भारतीय स्वतन्त्रता संग्राम अनि चिनियाँ नयाँ जनवादी क्रान्ति जस्ता बिभिन्न देशमा भएका बिशिष्ठ महत्वका महत्वपूर्ण क्रान्ति र तिनले ल्याएका परिवर्तनहरु लोकतन्त्रको त्यही पुरानो जन परिभाषालाई मूर्त रुप दिने क्रममा विकसित भएको यथार्थ तिनको अन्तर्यहरुलाई केलाउँदा हामीले प्रष्टसँग भेटाउँदछौ । वास्तवमा ती सबै स्वाधीनता, स्वतन्त्रता र भातृत्वका लागि भएका अग्रगामी परिवर्तनका आन्दोलनहरु जन अधिकार र नागरिक स्वतन्त्रता तथा राष्ट्रिय सार्वभौमिकताको रक्षा र शतत प्रगतिका निमित्त नै भएका थिए । तिनको यथार्थ  मर्म भनेकै राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक प्रगतिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाजिक बिघ्न बाधाहरुलाई पञ्छाएर सर्बतोमुखी समुन्नतिको दिशामा समाज, राष्ट्र र विश्वलाई अग्रगति प्रदान गर्नु थियो र हो एकदमै प्रष्ट हुन्छ ।तर आजको लोकतन्त्र माथि उल्लेख गरिए जस्तो  जनता र राष्ट्रका समस्या समाधान गर्ने माध्यम बन्न पाएको या बन्न सकेको छैनन् या त्यस्तो बन्न दिइएको छैन । यो केवल सत्ता संर्घषको एउटा निरन्तर चल्ने घटनाक्रमको रुपमा पथभ्रष्ट र बिकृत भएको या बिसंगत बनाइएको छ । जनताको जीवन जन जीबिका एकदमै कष्टकर दुरुह बन्दै गएको छ ।

हुन त माथि उल्लिखित क्रान्तिहरुकै देन र योगदानले गर्दा आज विश्व विकासको माथिल्लो चरणमा आइपुगेको अनुभूति र अनुभव हामीले गर्न पाएका हौं । यस क्रममा भन्नै पर्दछ कि विज्ञान र प्रबिधिको विकासले त आज आकाश–पाताल सर्बत्र ढाकेको छ ।जसले गर्दा आज सारा संसार साघुरिएर–खुम्चिएर सानो भएको छ । हत्केलाभरको एउटा सानो मोबाइलमा आज सारा संसार अटाएको छ र सूचनाको अभूतपूर्व शक्ति यसले प्रदान गरिरहेको छ ।तर आज लोकतन्त्र हिजोको शाश्वत र सर्बब्यापी जस्तो मानिएको माथि उल्लिखित परिभाषा र मूल्य मान्यता अनुसार चल्न बिल्कुलै छाडेको छ । यो जनताका नाममा केही टाठाबाठाहरुले सञ्चालन गर्ने संकीर्ण र अन्ध स्वार्थप्रेरित शासन पद्धतिमा बद्लिएको छ । निर्वाचनहरु त्यस्तै टाठा बाठाहरुको सत्ता नबिकरण गर्ने महँगो माध्यम मात्र बन्ने गर्दै आएका छन् । फलतः आजको लोकतन्त्रले लोककल्याणको कुरा या त बिल्कुलै छाडेको छ या यसलाई बिकृतिकरण गरेर नराम्रोसँग थला पारिएको छ । यसरी कथित लोकतन्त्रमा पनि लोकको कुनै सोधपुछ अर्थात जनताको भलाई बिल्कुलै हुन छाडेको छ ।

यसरी मूलतः हाम्रो नेपाल लगायतका देशहरुमा लोकतान्त्रिक भनिएको परिवर्तन पछि पनि जनताले दैनिक जीनवमा भावनात्मक रुपसम्मले पनि कुनै राहत महसुश गर्न नपाउनुले यही यथार्थको पुष्टी र दिग्दर्शन गराउँदछ ।परिवर्तनले लोकतान्त्रिक संस्कृति र संस्कारको जुन नयाँ मूल्य मान्यताहरु विकसित र स्थापित गर्दछ र गर्नु पर्दछ भन्ने पुरानो मान्यता हो, थियो, त्यो आज गुम भएको र लोकतन्त्रका बाहक सम्बाहक मानिएका दलहरुको ब्यवहारले उनीहरुको खुल्लम खुल्लारुपा ‘अक्कल गुम’ भएर अन्धासुरमा हिडिरहेको प्रतीत हुन्छ ।परिणामतः लोकतन्त्रलाई जीवन पद्धति बनाउने कुरा आज यसरी धेरै टाढाको कुरा भइसकेको या भइरहेको छ । लोकको हित बिनाको हाम्रो लोकतन्त्र वास्तवमा नराम्रोसँग संकटमा परेको एउटा रोगी संक्रमणकालीन लोकतन्त्र मात्र रहन गएको भनेमा कुनै अत्युक्ति हुने देखिदैन । त्यसले गर्दा हाम्रो राष्ट्र, राष्ट्रियता र सार्बभौमिक अखण्डतामाथि पनि अझ ठूलो संकट उत्पन्न भएको छ ।यसरी आज उत्पन्न परिणामले वास्वतमा आजकल परिवर्तनको आन्दोलन र लोकतन्त्रका बीचमा कुनै सैद्धान्तिक, राजनीतिक, समाजिक र सांस्कृृतिक तालमेल र तादाम्यता पनि रहन छाडेको देखिन्छ । ती परस्पर नमिल्ने बेग्ला बेग्लै कुरा हुन् भन्ने जस्तो किसिमले अथ्र्याउन थालिएको छ । फलस्वरुप एउटा जीवन्त प्रणाली बनेर राजनीति, अर्थतन्त्र, सामाजिक संरचना र सांस्कृतिका गतिविधिहरुमा लोकतन्त्रले ल्याउने नयाँ उन्नत संस्कारको विकास र त्यसलाई पोषण तथा मलजल गर्ने सार्थक राष्ट्रिय परिवेश पटक्कै बन्न सकेको छैन  जसले एउटा राष्ट्रिय भावनाको विकास गरोस् र राष्ट्रियता र राष्ट्रिय सार्वभौमितालाई अझ सुदृढ तुल्याओस् । तर आज यसलाई यो महत्वपूर्ण र आधारभूत दिशाका बिपरीत साच्चै नै ‘लुटतन्त्र’को पर्याय बनाउदै लगिएको  र बनाउन खोजिएको प्रष्टै देखिन्छ । त्यसै आधारमा राजनीतिक दलहरु परिवर्तन ल्याउन त सक्छन् तर त्यसलाई ब्यबहारमा अनुबाद गरेर अघि बढाउन या सञ्चालन गर्न सक्तैनन् भन्ने निष्कर्ष र भाष्य आजका विश्लेषकहरुले निकाल्न थालेका छन्, नेतृत्वको ब्यवहारलाई हेर्दा त्यसलाई अन्यथा भन्न सकिने स्थिति पनि एकदमै छैन । यद्यपि परिवर्तनकामी शक्ति माानिएकाहरुमा यस्तो डरलाग्दो स्खलनको स्थिति के कसरी सिर्जना भयो भन्ने कुरा ठम्याउनुपर्ने आवश्यकता भने ती बिश्लेषकहरुले महसुश गरेको या त्यतातिर ध्यान दिएको पटक्कै पाइदैन ।क्रमश

२०७९ फागुन ३० ०८:५६ बजे

प्रतिक्रिया