डडेल्धुराको अमरगढी १० पोषणमैत्री वडा घोषणा हुदैं

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन २९ ०८:३५ बजे
पोषण मैत्री तयारी भेला

डडेल्धुरा,फागुन २९ गते । सरसफाई स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, पोषणका विभिन्न सुचांकहरु पुरा भएपछि डडेल्धुराको अमरगढी नगरपालिका वार्ड न.१० लाई पूर्ण पोषण मैत्री वडा घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सेती लोकमार्गसंगै जोडिएको जिल्ला सदरमुकामको पूर्वतर्फ रहेको वडा नं. १० लाई जिल्लाको पहिलो पोषण मैत्री वडा घोषणा गरिन लागेको हो ।

करिब एक दर्जन गाउँ रहेको वडा नं. १० का सबै घरमा जुठा भाडावर्तन धुन जुठ्यान, भाडावर्तन सुकाउन च्याङ, चर्पी, कुहिने, नकुहिने फोहोर व्यवस्थापन गर्न खाडल, शुद्ध पिउने पानीका लागि फिल्टर, करेसाबारी, गोठ घर भन्दा टाढा निर्माण, बिद्यार्थीहरुलाई घरमा उत्पादित खाना, खाजा, महिलाहरुलाई अनिवार्य रुपमा आईरन चक्किको सेवन, पूर्ण रुपमा स्वास्थ्य संस्थामा सुत्केरी  जाँच, महिनाबारी भएका बेला सरसफाई लगायत गरी तोकिएका सबै सुचांक पुरा गरिएको नगरपालीका स्वास्थ्य शाखा प्रमुख गणेश वहादुर विष्ट ले वताउनु भयो ।

अमरगढी नगरपालिका र विभिन्न दातृ निकाय सु–आहाराले २०७६ साल देखि थालेको अभियान पूर्ण पोषण मैत्री वडा बल्ल आएर पुरा हुन लागेको वडा अध्यक्ष खेमराज भट्टले बताउनुभयो । अमरगढी नगरपालिकाले सरसफाई र स्वास्थ्यका क्षेत्रमा स्वास्थ्य शाखा, कृषि उत्पादनका क्षेत्रमा कृषि शाखा, पशुजन्य उत्पादन र सेवनका क्षेत्रमा पशु शाखा तथा कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुरा र सु–आहारा परियोजनाले बनाएको योजना र गरेको कामले वडा नं. १० पूर्ण पोषण मैत्री वडा घोषणा गरिन लागेको बताउनुभयो । 



२०७९ फागुन २९ ०८:३५ बजे

प्रतिक्रिया