रञ्जितालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नाउपाको निर्णय

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन २६ १२:४९ बजे
उपराष्ट्रपति

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।  

नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको प्रमुख सचेतक गंगाराम थारुले बताएका छन् । 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टी जसपालाई दिने सहमति भएको थियो । जस अनुसार जसपाले बाराबाट प्रतिनिधि सभामा निर्वाचित रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उठाउने निर्णय गरेको थियो ।तर गठबन्धनमै रहेको नाउपाले उपराष्ट्रपति उम्मेदवारमा श्रेष्ठलाई उठाउने निर्णय गरेको हो ।

जसपाले यादवलाई उठाउने निर्णय गरे पनि निर्वाचन आयोगले भने उपराष्ट्रपतिमा पुरुषको मनोनयन दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले पुरुष व्यक्ति (रामचन्द्र पौडेल) राष्ट्रपति निर्वाचित भइसकेकाले त्यो भन्दा फरक (महिला वा अन्य) लिङ्गबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

२०७९ फागुन २६ १२:४९ बजे

प्रतिक्रिया