जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा अगामी फागुन ११ गते देखि जनकपुर साहित्य महोत्सवको आयोजना गरिने भएको छ । नभ मिथिला फाउण्डेशनको आयोजना र फ्याकट्स नेपालको प्रमुख प्रयोजनमा हुने साहित्य महोत्सव माघ ११ गते देखि १३ गतेसम्म जानकी मन्दिरको प्राङ्गणमा चल्ने भएको छ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाको भवनमा आयोजक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सव तीन दिनसम्म चल्ने र महोत्सवमा विभिन्न समसामयिक विषयहरूमा मन्थन तथा विमर्श गरिने कुरा बताउनुभएको छ।
चौथो पटक आयोजना हुन लागेको जनकपुर साहित्य महोत्सवको ११ गते उद्घाटन हुने कार्यक्रम रहेको छ । नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिइएको महोत्सव आयोजक समितिका संयोजक प्रियङ्का झाले जानकारी दिनु भएको छ ।उद्घाटन कै दिनमा विद्यालय स्तरीय वक्तृत्व कलाको समापन कार्यक्रम हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई २१ हजार, ११ हजार र ५ हजार १ सय सहित सम्मानित गरिने भएको छ । महोत्सवको दोस्रो दिनमा पर्यावरण, समावेशिताको परिकल्पना र अभ्यास, राजनीतिक अभियान र अवसर, आफ्नो समाजलाई फर्केर हेर्दा, घुघट प्रथा, अन्तरविद्यालय कविता प्रतियोगिता हुने भएको आयोजकले जनाएको छ ।
महोत्सवको तेस्रो दिन युवा संस्कार र परिकार, मैथिली साहित्य र रङ्गमञ्चको यात्रा, दुर्व्यसन, किन आवश्यक छ उत्सव, समाजको अर्थ र सामाजिक यात्रा, हामीले गुमाएको खेलकुद, सम्झना प्रदीप दाइ तथा विविध संस्कृतिक कार्यक्रम रहेको आयोजक नभ मिथिला फाउण्डेशनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिनुभयो ।
साहित्य महोत्सवको संवाद कार्यक्रममा डा. सिके राउत, नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा, मास्टर सेफ संतोष साह, मैथिलीका प्रसिद्ध गायिका मैथिली ठाकुर , सासंद मनिष झा, शिशिर दहाल पनि सहभागी रहनु हुने कार्यक्रम रहेको छ । पत्रकार सम्मेलनमा उठेका प्रश्नहरुको जवाफ दिदै आयोजक समितिका सदस्य सरोज कुमार मिश्रले साहित्य महोत्सवको उपादेयता माथि प्रकाश पार्नु भएको थियो ।
प्रतिक्रिया