सात सालको क्रान्तिदेखि अहिलेसम्मको स्थिति र सही दिशा

bimbonline लोकनारायण सुवेदी
२०७९ फागुन ६ २०:११ बजे

आजभन्दा ७५ बर्ष पहिला नेपाली जनताले संगठित र सचेतरुपमा एक सय चार बर्षसम्म देशमा चलेको एकतन्त्री जहाँनियाँ सामन्ती राणा शासनका बिरुद्ध संघर्ष गरेर बिजय प्राप्त गरेको ऐतिहासिक दिन हो  फागुन ७ गते । यसको पृष्ठभूमिमा महान आदि शहीद लखन थापादेखि १९९७ सालका चार अमरशहीदहरु गंगालाल, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्तहरुको उच्च र सचेत शहादको क्रान्तिकारी तथा उच्च उत्सर्ग र निर्भिक बलिदानको अबिस्मरणीय र स्वर्णाक्षरले लेखिएको अमिट क्रान्तिकारी परम्परा रहेको छ । सात सालको त्यस क्रान्तिले सम्पूर्णरुपमा जनाधिकार र नागरिक स्वतन्त्रता प्राप्त गर्न नसके पनि नेपालमा आधुनिक लोकतन्त्रको बिकासतर्फको मार्ग प्रसस्त गर्न र त्यस दिशामा देशलाइ हिडाउन आरम्भ अबश्य गरेको हो ।

हुन पनि सात सालको क्रान्ति पछिदेखि नै नेपालमा प्रजातन्त्रको बारेमा ब्यापक चर्चा परिचर्चा र बहस आरम्भ भएको पनि हामी देख्दछौं । त्यत्ति मात्र होइन, क्रान्तिलाई बिचमै आधा अधुरो छोड्दा कसरी देशी बिदेशी प्रतिकृयावादी शक्तिले खेल्दा रहेछन् र प्रतिगामी शक्तिले पुनः टाउको उठाएर सत्ता हत्याउदो रहेछ भन्ने कटु यथार्थ पनि त्यस क्रान्ति कालपछिको हाम्रो राजनीतिक इतिहासले एकदमै सटीक र प्रष्टसँग औल्याएको हो । यद्यपि परिवर्तनकामी शक्तिहरुले त्यसलाई सहीरुपमा ग्रहण गर्न नसकेको र दरबारिया शक्तिबाट प्रभाबित भएको स्थिति देखिन्छ । तर पनि बिशेष गरेर त्यस बेला नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क.पुष्पलालले जनताले संघर्षबाट प्राप्त गरेका राजनीतिक उपलब्धीको रक्षा गर्दै सामन्ती ब्यवस्थालाई राम्रोसँग परास्त गर्ने र जनताका हक अधिकारलाई स्पष्टरुपमा स्थापित र सुदृढ गर्ने आफ्नो राष्ट्रिय राजनीतिक दायित्व र कर्तब्यबाट संघर्षशील राजनीतिक दलहरु बिचलित हुनु हुदैन भन्ने जुन कुरा पनि सात सालको क्रान्तिपछिदेखि नै बिशेषरुपमा उठ्दै आउनु भएको थियो त्यसमा गम्भीर ध्यान नदिइदा र यो बिचार पक्षको शक्ति कमजोर हुँदा स्थिति बिग्रेर गयो । उहाँको बिचार र देशको आवश्यकतालाई ठीकसँग बुझन र अँगाल्न अस्वीकार गर्दा २०१७ सालको प्रतिगामी कदम उठेको र १०४ बर्षको सामन्ती अधिनायकबादी मध्ययुगीन बर्बर राणा शासनबाट ठूलो बलिदान पछि केही हदसम्म मुक्त भएका नेपाली जनताले पुनः शाही सामन्ती अधिनायकबादी ब्यवस्थालाई बेहोर्नु र लड्नु परेको हाम्रो लामो अुनभव र कटु  इतिहास रहेको छ ।

वास्तवमा त्यो के भने पटक पटक ‘तावाबाट भुँग्रोमा’ परेर नेपाली जनता पुनः ब्यूझदै र लड्दै आएका छन् । सत्र सालको प्रतिगामी शाही काण्डबाट छुटकारा पाउन मात्रै पनि करीब तीन दशकसम्म परिवर्तनकामी राजनीतिक दल र शक्तिहरुले निरन्तर संर्घष, बलिदान, लामो समयसम्मको जेलनेल र प्रवासको पट्यारलाग्दो पीडा तथा कठोर भूमिगत जीवन बिताउनु परेको त्यो कालखण्डको संघर्षमय इतिहास रहेको छ ।

त्यस क्रममा २०४६ सालको परिवर्तनको संघर्षको पनि कम ठूलो ऐतिहासिक महत्व रहेको छैन । तर त्यसले जुन दिशातर्फ देश र जनतालाई अभिमुख गराएर अग्रगामी परिवर्तन र आर्थिक सामाजिक रुपान्तरणको ठोस धरातल निर्माण गर्ने योजनाकासाथ परिवर्तनका पक्षधर शक्ति र दलहरुले लाग्नु पर्दथ्यो फेरि पनि त्यसो हुन सकेन । संकीर्ण कुर्सी–स्वार्थका कारण जस्तोसुकै अपबित्र गठबन्धन गर्न पनि तयार हुने र जस्तोसुकै अपसँस्कृति स्वीकार्न अलिकति पनि लाजशर्म नमान्ने प्रबृत्ति प्रबल र हावी बनेपछि प्रतिगामी शक्तिले त्यसमा खेल्ने प्रसस्त ठाउँ पायो । परिणामस्वरुप पुनः जनताका हक अधिकार खोस्न र पछि फर्काउन सामन्ती अधिनायकबादी शाही शक्ति अग्रसर भयो । त्यसपछि बिकसित भएको अपूर्ब जन आन्दोलनले सन्दर्भहीन भइसकेको अधिनायकबादी शाही शक्तिलाई बिदा गरयो र २००७ सालकै जनक्रान्तिको बेलादेखि उठ्दै आएको संविधान सभाबाट जनताको संविधान बनाउने बाटोमा मुलुक अग्रसर भयो ।

तर यत्रो ठूलो परिवर्तन पछि पनि देशको राजनीतिमा कुर्सीमुखी संकीर्ण राजनीतिले उसैगरी प्रश्रय र प्रोत्साहन पाउन छाडेन । फलतः सात सालपछि र छयालिस साल पछिकै जस्तो सत्ता–कुर्सीको खेल राजनीतिको केन्द्रमा हाबी रह्यो र यसरी पहिलो संबिधान सभा असफल हुन पुग्यो । त्यसपछि फेरि तिनै असफल भएका दलहरु नै बिवादास्पद र सन्देहास्पद निर्वाचनका माध्यमबाट दोश्रो संविधान सभामा पुगे र सत्ताको रडाको उसैगरी मच्चाउन छाडेनन् । उनीहरुले भागबण्डालाई नै राष्ट्रिय सहमति माने । राष्ट्रका जल्दाबल्दा गम्भीर समस्या समाधान गर्न सरोकारवाला सबै शक्ति, समूह, दल र समुदायसँगको ब्यापक राष्ट्रिय एकतालाई लत्याउने काम गरेर संकीर्ण घेराभित्रबाट जसैतसै संविधानको एउटा पोथा २०७२ असोज ३ गते जारी गरे । त्यसले एकातिर देशभित्रै ब्यापक असन्तुष्टी उत्पन्न गरयो भने अर्कोतिर देशी बिदेशी प्रतिगामी र प्रतिकृयावादी शक्तिले फेरि पनि नेपाली जनता र राष्ट्रका बिरुद्ध खेल्ने ठाउँ पायो । आज हामी यसै पछिल्लो अबाञ्छित र अस्वीकार्य स्थितिबाट गुज्रिरहेका छौं ।

यो इतिहासले एकदमै प्रष्ट पार्दछ कि गन्तब्य स्पष्ट नहुँदा तथा देश र जनताको हितमा राजनीतिलाई आदर्श, सिद्धान्त, निष्ठा र नैतिकताका आधारमा समर्पित गराउने उज्जल क्रान्तिकारी परम्परा कायम नगरिदा र निरन्तरता नदिइदा एक वा अर्को किसिमले पुरानै गलत र भ्रष्ट मान्यताहरुलाई नै अँगाल्ने प्रबृत्ति हावी हुन्छ । २०६२ र ६३ सालको ठूलो राजनीतिक परिवर्तन पछि पनि जुन स्थिति हाम्रो देशमा बिकसित भयो र अहिले पनि निरन्तर जारी रहेको र  हाबी भइरहेको छ यसले जनता र राष्ट्रको हित बिपरीत त्यही पथ बिचलित हुदै आएको गलत राजनीतिक परम्परालाई नै एक वा अर्को किसिमले काँध थाप्दै गलत दिशामा हिडेको प्रष्ट देखिन्छ ।

परिणामतः जनताले केवल पात्र फेरिएको तर प्रबृत्ति नफेरिएको यथार्थलाई अनुभूत गरिरहनु परिरहेको छ । राष्ट्र, राष्ट्रियताका गम्भीर समस्याका साथै कहालीलाग्दो भ्रष्टाचार असुरक्षा र अनिश्चित भबिष्यको कहालीलाग्दो स्थितिबाट आज देश गुज्रिनुपरिरहको छ । सत्तामा पुरानै नबसामन्ती तथा दलाल नोकरशाही पूँजीवादी शक्तिको हालीमुहाली छ । त्यसले जनताका आधारभूत परिवर्तनका आकांक्षालाई कदापि पूरा हुन दिदैन । आज २००७ सालको क्रान्तिको सम्झना गरिरहँदा यो कटु वास्तविकतालाई आत्मसात गरिनु अत्यावश्यक छ ।

यस प्रकार बाहिरी बाहिरी रुपमा सिंगारिएको जस्तो ‘कस्मेटिक’ सुधार गरेर अब मुलुक अगाडि बढ्न र खडा भएका ज्वलन्त समस्या हल गर्न सक्तैन भन्ने कुरा एकदमै प्रष्ट भएको छ । त्यसैले अब देशका सच्चा लोकतान्त्रिक, बामपन्थी र क्रान्तिकारी कम्युनिष्ट शक्तिहरु तथा देश जनताको चिन्ता गर्ने बुध्दिजीबीहरूले आर्थिक सामाजिक रुपान्तरण सहीतको प्रष्ट खाकाका साथ नयाँ बैकल्पिक शक्ति निर्माणको बाटो नहिडी सुख छैन । सत्ताको सेरोफेरोमा नाच्ने गाउनेहरु अब प्रतिगमन र ययास्थितिबादको मात्र पर्याय बनेको हामी देखिरहेका छौं । जनताको अग्रगामी परिवर्तनको आकांक्षा, जन आन्दोलनको जनादेश र मर्मलाई आत्मसात गर्ने सार्थक संविधान ती शक्तिहरुले दिन नसकेको आजको कटु वास्तविकता हो । त्यसले गर्दा यथास्थितिमा सही दिशामा देश अघि बढ्ला भन्ने कुरामा बिश्वास गर्ने कुनै आधार छैन । सात सालको क्रान्तिदेखि अहिलेसम्मका राजनीति परिवर्तनपछिको स्थितिलाई र्हेदा र केलाउदा यही कटु वास्तविकता नै छर्लङ्ग देखा पर्दछ ।

यस गम्भीर स्थितिमा सबै परिवर्तनकामी शक्तिहरुले गम्भीर, गहन र बस्तुगतरुपमा देश र जनताको अबस्थाको गम्भी समीक्षा गरेर जाग्न र सही बाटो लाग्न कत्ति पनि बिलम्ब गर्नु नहुने स्थिति टड्कारो बनेको छ  । यसको निम्ति ठोस बैकल्पिक राष्ट्रिय नीति र कार्यक्रमका साथ संघर्षशील बन्न सकेमा मात्र फेरि पनि राष्ट्रिय स्वाधीनता, शान्ति र समृद्धिको सही दिशामा देशलाई हिडाउन र अघि बढाउन सकिने सार्थक स्थिति बन्छ । योभन्दा  अरु कुनै अग्रगामी बाटो र बिकल्प छैन । सात सालको क्रान्तिको सम्झना गरिरहँदा यो यथार्थलाई आत्मसात नगरी सुखै छैन । जनता र राष्ट्रको सुनिश्चित र सुरक्षित भबिष्य समुन्नत दिशामा अग्रसर हुने बाटो नै यही हो । 


२०७९ फागुन ६ २०:११ बजे

प्रतिक्रिया