काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।
बिहीबार बिहान अस्पताल पुगेका देउवाले आगोले जलेर घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
यसैबीच, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि बर्न अस्पताल पुगेका छन् । उनले सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे अस्पतालका प्रमुख डा. किरण भण्डारीसँग जानकारी लिँदै उपचारमा कमी हुन नदिन र संवेदनशील हुन पनि ध्यानाकर्षण गराएका हुन् ।
सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका हुन् । उनीहरूको अवस्था गम्भीर रहेको जनाइएको छ ।
शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् ।
गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
प्रतिक्रिया