काठमाडौं । आगजनी मुद्दामा दोषी ठहर भएर कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई अदालतमा उपस्थित गराइएको छ । चौधरी १३ वर्ष अघिको आगजनी सम्बन्धी मुद्दामा दोषी ठहर छन् ।
उच्च अदालत दिपायलमा चौधरीले दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमा बयान दिन चौधरीलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको हो ।जिल्ला अदालतबाट चौधरीले भर्चुअल विधिबाट उच्च अदालत दिपायलमा बयान दिने श्रेस्तेदार रइभान कुन्जेडाले जानकारी दिए ।
चौधरीलाई प्रहरीले १९ माघमा बाँकेबाट पक्राउ गरेको थियो ।उनले आफूलाई रिहाइको माग गर्दै २२ माघमा उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए ।
चौधरीले जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएका कारण आफ्नो मुद्दामा दिएको म्याद बदर गरी थुनामुक्त गर्न माग गर्दै दायर गरेको रिटमा आदेश दिन अस्वीकार गरिएको थियो ।
अदालतले २९ माघमा पेशी तोक्दै दुवै पक्षलाई बोलाइएको थियो । त्यो दिन उच्च अदालतका न्यायाधीश देशबहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा चौधरीलाई बयानका लागि बोलाउन आदेश दिएको थियो । चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य रहेका छन् ।
प्रतिक्रिया