काठमाडौं । सम्झौता गरिएका मागहरू पुरा नगरेको भन्दै आन्दोलनमा उत्रिएका यातायात मजदुर र व्यवसायीसँग सरकारले वार्ता थालेका छन् । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सोमबार बालाजु बाइपास क्षेत्रमा भएको मजदुर आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण जनाउदै वार्ताका लागि आव्हान गरेका हुन् ।
सरकार मजदुर अधिकार र यातायात व्यवसायीको हितका पक्षमा रहेको तथा मजदुर र व्यवसायी सङ्गठनहरूले दिएको सुझाव समेतको आधारमा यातायात क्षेत्रको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल नै बनाई सकेको छ।
यातायात व्यवस्था विभागका महानिर्देशक तुल्सी गौतमको संयोजकत्वमा यातायात व्यवसायी र यातायात मजदुर सम्मिलित कार्यदल आइतबार नै गठन भएको छ। कार्यदलले आफ्नो काम अगाडि बढाइसकेको छ।
आन्दोलन नै समाधान नभएको बताउदै वार्ता र छलफल गरी उचित निष्कर्ष निकाल्न उपप्रधानमन्त्री श्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिहरूलाई मन्त्रालयमा बोलाएका हुन् । वार्ता ट्राफिक जरिवाना र आन्दोलन फिर्ता गर्ने विषयमा केन्द्रित भएको छ ।
विभिन्न माग राखेका यातायात मजदुरले सोमबारदेखि आन्दोलन सुरु गरेका थिए । उनीहरू पहिलो दिनमै आगजनी र तोडफोड गरेका थिए ।
ल्होत्सेकै कर्मचारीहरूले भड्काएपछि आगजनी र तोडफोडको भएको हो
सोमबार आन्दोलनकारीले बालाजु क्षेत्रमा प्रहरीको गाडीमा आगजनी गर्नुका साथै केही पसलमा लुटपाटसमेत गरेका छन् । सरकारसँग वार्तामा सहभागी यातायात व्यवसायीका नेताहरूले सोमबार भएको घटनाको सबै जिम्मेवारी ल्होत्से बहुउद्देश्यीय प्रालिले लिनुपर्ने बताएका छन् ।आफ्ना मजदुरहरूलाई ल्होत्सेकै कर्मचारीहरूले भड्काएपछि आगजनी र तोडफोडको घटना भएको उनीहरूको आरोप छ । बालाजु क्षेत्रमा भएको लुटपाटमा समेत ल्होत्सेबाटै परिचालित व्यक्तिहरूको संलग्नता रहेको आरोप लगाउँदै उनीहरूले सोमबार भएका सबै घटनाको सबै जिम्मा ल्होत्से बहुउद्देश्यीय प्रालिले नै लिनुपर्ने बताए ।
ल्होत्से बहुउद्देश्यीय प्रालि गोंगबुस्थित नयाँ बसपार्क निर्माण, सञ्चालन र व्यवस्थापनमा संलग्न कम्पनी हो । प्रालिले बसपार्क सञ्चालन तथा व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकासँग ४५ वर्षको सम्झौता गरेको छ । यातायात मजदुरहरूले बढाइएको ट्राफिक प्रहरीको जरिवाना खारेज लगायत १० बुँदे माग राखेर सोमबारदेखि आन्दोलन गरेका थिए ।
बेलुकीपख एक हुल ल्होत्से मलमा प्रवेश गरी पसलहरू तोडफोडसमेत गरेको थियो । आज उनीहरूले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द आह्वान गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारी टोली र यातायात मजदुरका प्रतिनिधिहरूबीच वार्ता जारी छ ।
प्रतिक्रिया