यातायात मजदुरको आन्दोलन : यात्रुहरु हात उठाउँदै पैदल हिँड्दै

हात उठाएमा प्रहरी र आन्दोलनकारी दुबै पक्षले सर्वसाधारण हो भन्ने चिनेर आक्रमणमा नपर्ने ठानेर सर्वसाधारणको ठूलो संख्या हात उठाएर हिँडिरहेका देखिएको छ

bimbonline बिम्ब अनलाइन
२०७९ फागुन १ १९:३७ बजे
यातायात मजदुरको आन्दोलन

काठमाडौं ।  यातायात मजदुरको आन्दोलनका कारण सोमबार अपरान्हदेखि काठमाडौंको गोंगवु बसपार्क र माछापोखरी क्षेत्र  तनावको अवस्थामा रहेको छ ।  

गाडी चलाउने क्रममा नियम मिच्दा ट्राफिक प्रहरीले लिने जरिवाना अत्यधिक भएको भन्दै यातायात मजदुरहरूले बसपार्क र माछापोखरी क्षेत्रमा सडकमै गाडी तेर्स्याएर यातायात अवरुद्ध पारेका हुन् ।  उनीहरूले नाराबाजी र ढुंगामुढा पनि गरेका छन्  । प्रहरीले पनि अश्रुग्यास प्रयोग गरेको छ । 

आन्दोलनकारीले प्रहरीका दुई वटा गाडी जलाइदिए भने माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी  बिटमा आगो लगाएका छन् । अहिले यहाँको अवस्था यो बाटो भएर आउने जानेका लागि असुरक्षित रहेको छ ।  प्रदर्शन अन्त्य भएपछि सजिलै घर फर्किने भनेर फर्किरहेकाहरू अँध्यारो हुन थालेपछि भने हात उठाउँदै तनावग्रस्त क्षेत्रमा पैदल हिँडिरहेका छन् ।

हात उठाएमा प्रहरी र आन्दोलनकारी दुबै पक्षले सर्वसाधारण हो भन्ने चिनेर आक्रमणमा नपर्ने ठानेर सर्वसाधारणको ठूलो संख्या हात उठाएर हिँडिरहेका देखिएको छ । 

२०७९ फागुन १ १९:३७ बजे

प्रतिक्रिया