नेकपा माओवादी केन्द्रले गर्यो कार्य विभाजन

संगठन विभाग प्रमुखमा जनार्दन, केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २६ १३:४४ बजे
नेकपा माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले कार्यविभाजन गरेको  छ । जसअनुसार संगठन विभाग प्रमुखमा जनार्दन शर्मा प्रभाकर नै कायम भएका छन् भने अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुनले निरन्तरता पाएका छन् । जनार्दन शर्मा र  वर्षमान पुन उपमहासचिव हुन् ।

वरियतामा भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि वरिष्ठ उपाध्यक्ष‍मा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल रहेका छन् । महासचिव देवप्रसाद गुरुङपछि उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका प्रसाद  यादव रहेको छ । 

लामो समयसम्म कार्यविभाजन नभएको भनी प्रश्न उठेपछि माओवादी केन्द्रले यही माघ १२ गतेदेखि २१ गतेसम्म बसेको स्थायी समितिको बैठकले पुरानै कार्यविभाजन कायम गरेको हो ।

४ कातिक २०७८ देखि अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनले र संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्माले सम्हाल्दै आएका छन् । महाधिवेशनले निर्णय नगरेका कारण दुबै नेताले सोही अनुसारको भूमिका निर्वाह गर्दै आएका थिए । जसलाई स्थायी समितिले वैधानिकता दिएको हो ।

२०७९ माघ २६ १३:४४ बजे

प्रतिक्रिया