टर्कीमा राहत तथा उद्धारमा ढिलाइ भइरहे पनि स्थिति नियन्त्रणमै छ स् राष्ट्रपति एर्दोगान

bimbonline एजेन्सी
२०७९ माघ २६ ०७:१४ बजे
टर्की

 काठमाडौं । भूकम्पमा प्रभावितको उद्धार र राहतमा ढिलाइ भएको गुनासो बढेपछि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यति ठूलो विपद्को सामनाका लागि पूर्व तयारी गर्न नसकिने बताउनु भएको छ। उहाँले राहत तथा उद्धारमा केही कठिनाइ भएको स्वीकार गर्नु भएको छ । तर, उहाँले स्थिति नियन्त्रणमा नै रहेको दाबी गर्नु भएको छ।

टर्कीका विपक्षी पार्टीले राष्ट्रपति एर्दोगानको आलोचना गरेका छन् । यस्तै, आलोचकहरुले पनि  उद्धार र राहत कार्यका लागि छिटो र छरितो रुपमा सञ्चालन हुनु पर्ने आपत्कालीन सेवाको व्यवस्थापनमा सरकारको कमजोरी भएको औँल्याएका छन् ।

टर्कीमा भूकम्प प्रभावित १० प्रान्तमा तीन महिनासम्मका लागि सङ्कटकाल लागू गरिएको छ । गएको सोमवारको भूकम्पका कारण टर्की र सिरियामा अहिलेसम्म कम्तीमा पनि १२ हजार जनाको ज्यान गएको छ । भूकम्प प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायले पनि राहतका सामग्री पुर्याउन थालेका छन् ।

यस्तै, भूकम्पले सिरियामा पनि ठूलो क्षति गरेको हुन सक्ने भनिए पनि त्यहाँको वास्तविक अवस्था के छ भन्ने बारे जानकारी आएको छैन । सिरियामाथि प्रतिबन्ध रहेको र त्यहाँ विद्रोही समूह सक्रिय रहेकाले उद्धारसँगै राहत पुर्याउने काम प्रभावित भएको छ ।

तर, राष्ट्रपति बसर अल असदले सरकार तथा विद्रोही समूहको कब्जामा रहेका क्षेत्रसम्म सहयोग पुर्याउन मिल्ने घोषणा गर्नु भएको छ । हिमपात र चिसोले भूकम्प प्रभावित क्षेत्रमा कठिनाइ थप बढाएको छ ।  

२०७९ माघ २६ ०७:१४ बजे

प्रतिक्रिया