काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । बैठकले राष्ट्रपतिको उम्मेदवार तय गर्ने जनाइएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकसमेत रहेका ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड आज बिहान ओली निवास बालकोट पुगेका हुन् । आज भेटघाटमा बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको हो ।
बालकोटबाट बाहिरिने क्रममा प्रचण्डले भने, ‘सहज ढंगले कसरी अघि बढ्ने भन्नेबारे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल गर्छौ, राष्ट्रपतिको उम्मेदवारबारे पनि छलफल हुन्छ ।’
राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ । एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने अडान राख्दै आए पनि प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमति खोज्नुपर्ने बताउँदै आएका छन् । यही मतभेदका कारण सत्ता साझेदार दलबीच खटपट भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले आज ओलीसँग भेटवार्ता गरेका हुन् । प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति खोज्नु पर्ने माग राख्दै आएको छ ।
प्रतिक्रिया