पोखरा जहाज दुर्घटना : इन्जिनले पावर नदिँदा जहाज खसेको

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २४ ०७:४० बजे
पोखरा जहाज दुर्घटना

काठमाडौं  । जहाज अवतरणका क्रममा दुवै इन्जिनले पर्याप्त पावर दिन नसक्दा यती एयरलाइन्सको ‘एटिआर–७२’ पोखरामा दुर्घटनामा परेको दुर्घटना जाँच आयोगले प्रारम्भिक अनुमान गरेको छ ।  ९एन–एएनसी कलसाइन नम्बरको जहाज अवतरणका लागि राइट एंगलबाट मोडिँदा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको अनुसन्धानबाट खुलेको हो ।  इन्जिनका प्रोपेलर (पंखा) फेदरमा जानु भनेको इन्जिन चलिरहे पनि पावर कम हुँदै जानु हो । 

१ माघमा दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याक बक्स’मा रहेको फ्लाइट डाटा रेकर्डर ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट इन्जिनका प्रोपेलर फेदरमा गएको देखिएको हो । सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरो (टिएसआइबी)मा लगेर फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गरिएको थियो । डाटा विश्लेषणका लागि सिंगापुर गएका आयोगका पदाधिकारी काम सम्पन्न गरेर स्वदेश फर्किसकेका छन् ।

 दुर्घटना जाँच आयोगका अनुसार जहाजका दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा किन गयो भन्ने अझै खुलेको छैन । इन्जिनले जहाजलाई अगाडि तान्न प्रोपेलरको एंगल मिलाउनुपर्छ । पोखरा दुर्घटनामा प्रोपेलरको एंगल नमिलेको जस्तो अध्ययनले देखाएको छ ।

उडिरहेको जहाजको प्रोपेलर फेदरमा जानुमा मानवीय वा प्राविधिक जुनसुकै कारण हुन सक्छ । कतिपय अवस्थामा मानवीय र प्राविधिक दुवै त्रुटि पनि हुन सक्ने बताइन्छ । 

२०७९ माघ २४ ०७:४० बजे

प्रतिक्रिया