प्रतिकुल परिस्थितिमा पनि एक कदम अगाडि बढौँ

bimbonline सागर कुवर
२०७९ माघ २२ १३:०२ बजे
लेखक( सागर कुवर)

कास्की ।  धर्तीमा जे जति फूलहरू उम्रन्छन्, तिनको आफ्नै विशेषता रहेको छ । कतिपय निमोठेर फ्याँक्दा पनि फेरि उम्रन्छन् । कतिपय धेरै स्याहार-सुसार गर्दा पनि राम्रो हुँदैनन् । कतिपय फूलहरू सुन्दर हुन्छन र अति मीठो वास्ना दिन्छन् तर तिनिहरुको नाम सुन्दर हुँदैनन् । कतिपय फुलहरूको नाम सुन्दर हुन्छन,  तर वास्ना राम्रो हुँदैन । तै पनि ती सबै प्रकारका फूलहरू उम्रदैनन् मात्र, आफ्नो गुण र विशेषता अनुसार उम्रन्छन्, हुर्कन्छन्, फुल्छन् । ती सबै फूलहरू नै हुन । आफ्नो विशेषता अनुसारको सुगन्ध दिइरहेका छन । तिनै फूलहरू फुलाएर कतिपय मान्छेले जीवन चलाएका पनि छन । 

यो धर्तीमा सुगन्ध छर्न र सजाउन ती फुलहरूको सँधै महत्त्व रहन्छ । फुलहरूको सुन्दर बगैंचा निर्माण गर्न बगैँचाको उचित व्यवस्थापन गर्ने देखि लिएर हजारौं फूलहरू फुलाउन सक्ने माली चाहिन्छ । मालीको फुल सम्बन्धी दृष्टिकोण र योजना जति सुन्दर छ, बगैंचा पनि त्यति नै सुन्दर हुन्छ । त्यही आधारमा बगैंचा पनि सुन्दर र विशाल बन्दै जान्छ । त्यो आवश्यकता पनि हो ।
हामीले सुन्दर बगैँचाको आशा मात्र गरेर हुदैन्, त्यसको लागि आवश्यक योजना र दृष्टिकोण पनि चाहिन्छ । कोपिलामा नै फूलहरू चुड्ने बानी लागेकाहरुबाट सुन्दर बगैँचाको आशा गर्नु गलत हुन्छ । हजारौं फूलहरू फुल्न नदिने बगैँचामा सुन्दर वास्नाको कुनै परिकल्पना गर्न सकिन्न ।कतिपय मालीहरूले बगैँचामा फूलहरू कोपिलामा निमोठिँदिने गर्दछन् तर उनीहरूले फुल निमोठेको बताउँदैनन्बगैँचामा आएका झारपातहरू सफा गरेको हो भन्छन् । बगैंचा सफा गर्ने सवालमा सुन्दर फुल नै निमोठेर फ्याकी दिन्छन । त्यसरी कहिल्यै सुन्दर बगैँचाको निर्माण सम्भव हुन्न । जसरी न्याय सम्पादनमा बरु हजारौं दोषीहरूले उन्मुक्ति पाउन तर एउटा पनि निर्दोषले सजाय नपाओस् भन्ने न्यायिक मान्यता रहेको हुन्छ । ठिक त्यसै गरि सुन्दर बगैँचाको निर्माण गर्दा केही झारपातहरू बाकी रहुन तर बगैंचा सफा गर्ने नाममा सुन्दर फूलहरू फ्याँकिनु हुन्न । बाकी रहेका झारपातलाई पुन: सफा गर्दा हटाउन सकिन्छ । त्यो आधारमा सुन्दर र विशाल बगैँचाको निर्माण गर्न सकिन्छ । 

महान लक्ष्यमा पुग्ने यात्रामा अनेकौं उकाली ओराली घुम्तीमोडकठिनाइहरू आउनु अस्वभाविक होइन। कठिनाइ बिनाको यात्रा सजिलो त हुन्छ तर दिगो हुँदैन । आजको बहस पनि कठिन तर दिगो बाटो हिड्ने कि सजिलो बाटो हिड्ने हो । घुम्तीहरुको उकालो नचढे सम्म शिखरमा पुग्न सकिन्न। समथर फाँटैफाँट हिडेर पनि शिखरमा पुग्छम भन्नेलाई विदा गर्नु  भन्दा अरु भन्न आवश्यक छैन। शिखर चढ्नेहरूको गन्तव्य निरन्तर अगाडि बढ्नुपर्छ । शिखर चढ्ने यात्रामा मरिन्छ कि भनेर डराउनेहरुलाई त यात्री बनाउन सकिन्न । शिखरमा पुग्न आवश्यक तयारी नगरिकन त्यहाँ पुग्न सकिन्न । त्यसको तयारी पनि गर्न हुन्न भन्नेहरु शिखरमा पुग्न नै चाहन्नन । शिखरमा पुग्दा बाटोमा हुने खतरालाई देखाएर त्यहाँ पुग्न नै नखोज्नु गम्भीर विचलन हो । त्यो प्रकारको विचलनले शिखरमा पुग्ने यात्रालाई परिस्थिति अनुकुल र प्रतिकुलको नाममा बिच बाटोमा नै रोकिदिन्छ । 

केही साथीहरुले माथी त चिसो छ जान सकिँदैन पनि भनेका छन । प्रतिकुल मौसम छ, जानू हुदैन भनेका छ्न । त्यो मौसम कहिले अनुकुल हुन्छ, त्यो भने भनेका छैनन । मौसमविदले मौसममा आउने फेरवदलको त जानकारी दिन्छन् । साथिहरुले शिखरमा सँधै चिसो छ भनेर त्यहाँ जान अस्विकार गरेका छन । प्रतिकुल मौसमलाई अनुकुल बनाउदै शिखरमा पुग्नुपर्ने समयमा साथीहरुले हुँदैन मात्र भन्छन, सजिलो बाटो मात्र हेर्छन । यसरी किनाराको फड्के साक्षी बस्न समेत डराउनेहरुले एक कदम अगाडि बढेर भन्छनस् बाटोको सुरक्षा हामीले गर्छम अहिले हिड्नु हुँदैन, मरिहालिन्छ । मृत्युसङ्ग सचेत हुनु त ठिक हो तर मृत्युसङ्ग सचेत हुने नाममा डराएर यात्रा नै नगर्नु गलत हो । 

तर, मित्रहरुले यो बुझ्दैनन कि त्यहाँ हुने चिसोमा न्यानो पनि छ । जाडो मौसम पार नगरिकन गर्मी मौसम त आउदैन । जाडोमा जानु हुन्न, निमोनिया भैहाल्छ भन्नेहरुलाई यो बुझ्नुपर्छ कि तातो कपडा लगाएर, आवस्यक सामाग्रीहरुको बन्दोवस्त गर्ने हो भने जाडो मौसममा निमोनिया हुँदै हुँदैन । निमोनियाको डरले गर्मीमा मात्र बस्न खोज्नेले यो बुझ्नै पर्छ कि त्यहाँ लामखुट्टेको डर छ । स्थितिलाई सही ढङ्गले बुझ्नेहरुलाई मात्र थाहा छस् जाडोमा न्यानो कपडा र गर्मीमा लामखुट्टेबाट बच्न झुलको आवश्यक छ । 

वर्षयाममा पुल नभएको खोला तर्न बढी गार्हो हुन्छ । पुल बनेर त्यो खोला तरम्ला भनेर त हुँदैन । त्यो खोला नतरेसम्म अगाडि बढ्न नै सकिँदैन । त्यहाँ तत्कालको जे उपाय छ, त्यो प्रयोग गर्नुपर्छ र होसियारी पुर्वक त्यो खोला तर्नुपर्छ । तर पक्की पुल बनेपछी मात्र खोला तरम्ला अहिले यहि किनारमा गिटि कुटेर बसम भन्ने हो भने बाढी आएर बगाएर लैजान्छ । त्यसकारण खोला तर्न पक्की पुल कुरेर मात्र बस्नु सही हुन्न । त्यसको तल माथी जहाँ बाट खोला तर्दा सुरक्षित र गन्तब्यमा पुग्न सकिन्छ, खोला तर्नुपर्छ । यात्रालाई रोक्न हुन्न, निरन्तर सघर्षशिल गतिमा अगाडि बढाउन पर्छ । (लेखक-नेकपा(मशाल) का नेता हुनुहुन्छ)

२०७९ माघ २२ १३:०२ बजे

प्रतिक्रिया