सत्ता गठबन्धनबाट उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्ष पदको उम्मेदवार

पाली कांग्रेससहितका दलले भने उम्मेदवारी दिनेरनदिनेसम्बन्धमा निर्णय गरेका छैनन्

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २२ ०९:२० बजे
राष्ट्रिय सभाको उपाध्यक्ष

काठमाडौं । सत्ता गठबन्धनले उर्मिला अर्याललाई राष्ट्रिय  सभाको  उपाध्यक्षको उम्मेदवार बनाउने भएको छ ।  सत्ता गठबन्धनले माओवादी केन्द्रकी नेतृ उर्मिला अर्याललाई राष्ट्रिय  सभाको  उपाध्यक्षको उम्मेदवार बनाउने भएको  हो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले भने उम्मेदवारी दिनेरनदिनेसम्बन्धमा निर्णय गरेका छैनन् । 

राष्ट्रिय  सभाको  उपाध्यक्ष  पदका  लागि  आज मनोनयन दर्ता हुँदै छ । सङ्घीय संसद् सचिवालयका  अनुसार  राष्ट्रिय  सभाको  उपाध्यक्ष  पदको मनोनयन प्रस्ताव आइतबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ । 

सत्तारूढ दलहरू नेकपा (एमाले)का १६, नेकपा (माओवादी केन्द्र)का १५ गरी ३१ जना राष्ट्रिय सभा सदस्य छन् । उपाध्यक्ष पदमा निर्वाचित हुन २९ मत आवश्यक हुनेछ । सत्ताबाहिरका नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी)का आठ, जनता समाजवादी पार्टी नेपालका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका एक र राष्ट्रिय जनमोर्चाका एक गरी २३ जना सदस्य छन् । एक जना स्वतन्त्र र तीन जना मनोनीत छन् । रिक्त एक पदको उपनिर्वाचन यही माघ २५ गते हुनेछ ।

उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भने प्रस्ताव सोमबार माघ २३ गते बस्ने राष्ट्रिय सभाको बैठकमा प्रस्तुत हुनेछ । उम्मेदवारका प्रस्तावक र समर्थकले उम्मेदवारीको प्रस्तावमा सङ्क्षिप्त छलफल गर्ने र त्यसपछि क्रमअनुसार दर्ता भएको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ । एकल उम्मेदवारी परेको अवस्थामा अध्यक्षले एकल प्रस्ताव दर्ता भएको उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुहुनेछ । 

लामो समयसम्म नेकपा एमालेमा  रहेकी  अर्यालले  दोस्रो  संविधान  सभा  निर्वाचनअघि माओवादी  केन्द्रमा  प्रवेश गरेकी थिइन् । राष्ट्रिय सभामा उनी मधेस प्रदेशबाट सदस्य निर्वाचित भएकी हुन् ।  

२०७९ माघ २२ ०९:२० बजे

प्रतिक्रिया