निहारिका र शिवराज विवाह गर्दै

bimbonline बिम्ब अनलाइन
२०७९ माघ २१ ०६:५१ बजे
निहारिका र शिवराज

काठमाडौं ।  आफूलाई ‘कुमारी आमा’का रूपमा चिनाउँदै आउनुभएकी निहारिका राजपुत र आरोपित शिवराज श्रेष्ठ विवाह हुने भएको छ ।   धनुषाका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहवरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम निहारिकाले शिवराजसँग दाम्पत्य जीवन प्रारम्भ गर्ने गरी मुद्दा मिलापत्र गरेपछि दुवैजना  विवाह हुन लागेको हो । 

आइतबार मात्रै निहारिकाले धनुषा जिल्ला अदालतमा अंश मुद्दा दिनुभएको थियो । सोमबार दुवै जनाबीच मिलापत्र भएपछि विगतका झगडा बिर्सेर एक–अर्कालाई पति–पत्नीका रूपमा स्वीकार गरी बस्ने निर्णय भएको हो । नाबालक छोरासमेतलाई इज्जतअनुसार खान, लाउन, औषधोपचार खर्च, छोराको पढाइलेखाइ खर्च तथा पिता–पतिको हुने कर्तव्य निर्वाह गर्छु भनेर शिवराजले स्वीकार गरेपछि  एकासगोलमा नै बस्ने गरी फिराद दाबी छाडेर मिलापत्र गरेकी  हुन् । 

निहारिका र शिवराजबीच मिलापत्र हुनुअघि एक–अर्कालाई आरोप–प्रत्यारोप लगाइरहनुभएको थियो । छोराको डीएनए जाँचपछि शिवराजलाई सजायँ दिलाउने अवस्थामा निहारिका पुगेकी थिइन् । तर दुईबीचको आपसी समझदारीले सम्बन्ध विवाहसम्म पुगेको छ । 

यसअघि निहारिकाले आफू बलात्कृत भएको र कानुनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहेकी थिइन् ।

२०७९ माघ २१ ०६:५१ बजे

प्रतिक्रिया