जिउँदा लासहरु

bimbonline अग्रिराज पौडेल
२०७९ माघ १९ १६:२३ बजे
लेखक

पहिलो पाइला उठाएर
विद्रोह त गर्यौ
तर ठूलो गल्ती गर्यौ
सबैलाई थाहा छ तिमी एक्लै छैनौ
त्यो तिमीलाई पनि थाहा थियो
निर्धाको चित्कार सुन्ने कोही छैन
तिमीलाई यो पनि थाहा थियो
सदीयौँदेखिको निरन्तरता हो यो
मरेकालाई पटकपटक मार्नेहरूका बीचमा
रमिते बनेर घस्रीघस्री मर्न चाहेनौ
त्यसैले आफैँलाई जलायौ
जिउँदा लासहरूको बस्तीमा ।

तर तिमीले भूल गर्यौ
आवेशमा आएर ।
तिमीलाई पक्कै थाहा हुनुपर्छ
धेरैथोक हुनेछ तिम्रा नाउँमा
मञ्चन हुनेछन् ठूलाठूला नाटकहरू
वादैवादका वादविवादहरू
राजनीतिका दाउपेचहरू
भीड पनि लाग्न सक्छ
हिलो छ्यापाछ्याप गर्नेहरूको
झन्डा ओढाउनेहरूको
खिल्ली उडाउनेहरूको
प्रशंसामा आँसु चुहाउनेहरूको ।

आउनेछन् मलामी भएर
तिमीलाई विवश पार्नेहरू पनि
रमितेहरूको भीडमा मिसिएर
आउनेछ निदाएको सरकार पनि
सहानुभूति देखाउनेछ
समस्या सुल्झाउने वाचा गर्नेछ
फेरि भ्रष्ट र दलालहरूका खोपीमा
निर्धक्क निदाउनेछ ।

हुनेछैन चर्चा
तिम्रो खबरदारीको
तिमीले भोगेका पीडाहरूको
अन्धकारमा विलीन हुँदै गएका
तिम्रा परिवारहरूको
लिलामीमा चढेका आशा र भरोसाहरूको
तिमीलाई पक्कै थाहा हुनुपर्छ
कुरिरहेका छन् गिद्दहरू
एकएक चोक्टा मासु लुछ्न
खिल बनेको घाउ कोतरेर
फर्जी तमसुक देखाएर
नलिएको ऋणसमेत जोडेर
मिटरब्याजी दलाल
सहकारी र लघुवित्तका भरौटेहरू
टाँस्न सक्छन् ३५ दिने म्याद
तिम्रो परिवारका छातीमा ।

विद्रोह त गर्यो तर गल्ती गर्यौ
थाहा छ हिजो गुहार माग्नेहरू
धाइरहेका छन् अझै पनि
घस्रिरहेका छन्
खुम्चिरहेका छन् न्याय खोज्दै
जिउने आशामा ।

यो पनि थाहा छ
थकाउनेछन्, गलाउनेछन्
घस्रीघस्री पटकपटक मरेर
बिलाउनेछन्
तिम्रा लागि न्याय माग्नेहरू ।

२०७९ माघ १९ १६:२३ बजे

प्रतिक्रिया