जमिन बाँझो नराख्नेलाई अनुदान

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १७ ०८:२९ बजे
अनुदान

तनहुँ । भिमाद नगरपालिकाले ‘समृद्धिको आधार उत्पादनमा वृद्धि र व्यापार’ नाराका साथ उत्पादन बढाउन अभियान सुरु गरेको छ । 

अभियानअन्तर्गत बाँझो जग्गामा उत्पादन गर्नेलाई अनुदान उपलब्ध गराउने निर्णय गरिएको भिमाद नगरपालिकाले जनाएको छ । गाउँका अधिकांश खेतबारी बाँझो राख्ने क्रम बढेकाले यसलाई रोकी उत्पादन वृद्धि गरेर व्यापारको माध्यमबाट कृषकलाई आम्दानी दिने उद्देश्यले अनुदानको व्यवस्था गरिएको भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले बताउनुभयो । 

“आफ्नो बारीमा खेती गर्नेलाई प्रतिरोपनी दुई हजार र अरूको बारीबाट उत्पादन गर्नेलाई प्रतिरोपनी तीन हजार रुपियाँ अनुदानको व्यवस्था गरेका छौँ,” नगरप्रमुख सुवेदीले गोरखापत्रसँग भन्नुभयो । 

कृषकलाई लागत मूल्य घटाउन ट्याक्टर तथा हाते ट्याक्टर अनुदानमा दिने व्यवस्थासमेत गरिएको नगरप्रमुख सुवेदीले बताउनुभयो । “बाँझो जग्गा उपयोग गर्ने कृषकलाई मल, बीउ र खनजोतका लागि प्रोत्साहनस्वरूप चालू आर्थिक वर्षदेखि अनुदानको व्यवस्था गरेका हौँ,” उहाँले भन्नुभयो । 

बाँदरले अन्नबाली धेरै नोक्सान गर्ने स्थानमा बेसार खेती गर्न आग्रह गरिएको छ । बेसार खेतीलाई बाँदरले नोक्सान नगर्ने भएकाले यस्तो आग्रह गरिएको नगरप्रमुख सुवेदीले बताउनुभयो । बाँझो जमिन सदुपयोग गर्दै कृषि उत्पादन क्षेत्रमा संलग्न हुन चाहने कृषकलाई निवेदन पेस गर्न आग्रह गरिएको नगरपालिकाले जनाएको छ । 

यस कार्यक्रमले विशेष गरेर जमिन बाँझो राखेर विदेश जाने युवालाई स्वदेशमै काम गर्न प्रोत्साहन मिल्ने र उत्पादन भएपछि खाद्यान्नमा आत्मनिर्भर हुन टेवा पुग्ने विश्वास लिइएको उपप्रमुख शारदा खनालले बताउनुभयो । 

“भारतबाट ठूलो परिमाणमा खाद्यान्न आयात भइरहेको छ । भारतले खाद्यान्न नपुगेर निर्यात रोकिदियो भने भोकमरीमा पर्न सकिन्छ,” उपप्रमुख खनालले भन्नुभयो, “हामी खाद्यान्नमा आत्मनिर्भर हुन जरुरी छ ।”  आजको गोरखापत्रबाट 

२०७९ माघ १७ ०८:२९ बजे

प्रतिक्रिया