नुनमा रासायनिक पदार्थ मिसाएर मल हो भन्दै बेच्ने एक जना व्यापारी पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १७ ०८:११ बजे
मल

काठमाडौं । नुनमा रासायनिक पदार्थ मिसाएर मल हो भन्दै बेच्ने एक जना व्यापारी पक्राउ परेका छन् । उनलाई पर्साबाट प्रहरीले पक्राउ गरेको हो । 

जिल्लाको दक्षिणी भेगस्थित गोडैता नगरपालिका–७ का ५५ वर्षीय मोहन दासलाई आफ्नै घरमा नक्कली मल बनाई किसानलाई बेच्दै गर्दा सोमबार बिहान जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा  पक्राउ गरेको हो । व्यापारी दासले नुनमा रासायनिक पदार्थ मिसाई पोटास हो भनी किसानलाई झुक्याएर बेच्दै आएको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले  बताएका छन् ।  

दासले गोडैता–७ स्थित घरमा महालक्ष्मी कृषि सहकारी संस्था र गोडैता–८ बजारमा दास बिज भण्डार नामले नक्कली मलको व्यापार गर्दै आएका थिए। पक्राउ परेका दासको घरमा रहेको महालक्ष्मी सहकारीबाट प्रहरीले पारस सर्वोत्तम खाद लेखिएको ३१ बोरा र खुला २५ किलो नियन्त्रणमा लिएको छ। एउटा बोरा, आईपीएल डीएपी इन्डियन पोटास लेखिएको पहेँलो रङको सिलाएको प्रतिबोरा ५० किलो भएको २० वटा बोरा र सोही कम्पनीको एउटा खाली बोरा बरामद गरेको छ। 

सोही संस्थाबाट साल्ट लेखिएको सेतो रङ (नुन) का १०३ वटा बोरा, डिजिटल तौल गर्ने मेसिन एक थान, रातो रङ लागेको बेल्चा एक थान, बिरला ओक्साइड सिमेन्ट लेखिएको खाली प्याकेट चारवटा नियन्त्रणमा लिइएको छ। आधा–आधा भरिएको प्याकेट दुईवटा तथा बोरा सिलाउने मेसिन एक थान बरामद  गरीएको छ । 

बजारमा दास बिज भण्डार नामले सञ्चालनमा ल्याएको पसलबाट प्रहरीले पारस सर्वोत्तम खाद लेखिएको प्रतिबोरा ५० किलो पहेँलो रङको सिलाएको बोरा १० वटा पनि बरामद गरेको छ। नुनलाई नक्कली मल बनाएको खबर पाएपछि दाससहित सामानहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। दासलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखी थप अनुसन्धान  थालीएको छ । 

२०७९ माघ १७ ०८:११ बजे

प्रतिक्रिया