बाबुले पेट्रोल छर्किएर आफ्नै २ वर्षे छोरा र श्रीमतीलाई आगो लगाए

छोरोको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १६ ०८:३८ बजे
आगो

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको छ । उनले लगाएका आगोबाट उनकी श्रीमती  पनि घाइते भएकी  छिन् ।

स्थानीय भानुभक्त विकले आइतबार अपराह्न पाँच बजेतिर श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर  आगो लगाएका हुन् ।  आगो लगाएर उनी त्यसपछि भारततर्फ भागेका  हुन् । उनलाई प्रहरीले गएराति साढे १ बजेतिर नियन्त्रणमा लिएर को र आवश्यक कारवाहीका लागि प्रक्रिया चालेको छ । 

जलेर गम्भीर घाइते भएका दुई वर्षीय बच्चा प्रिन्सको भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान ६ बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

साँझ पाँच बजेतिर गंगा माइत जान भनेर हिंडेपछि भानुभक्तले पेट्रोल छ्यापेर आगो लगाइदिएका थिए । ‘अब बाँच्नुपर्छ भनेर बाबु बोकेर म हिंडें,’ गंगाले भनिन्, ‘परैबाट पेट्रोल छ्यापेर आगो फाल्दियो ।’

बच्चाको कम्मरभन्दा माथिको भाग जलेको थियो । श्रीमती गंगाको पनि घाँटी, हात, कान लगायतका भाग जलेको छ । प्रहरीका अनुसार गंगाको शरीरको करिब २० प्रतिशत भाग जलेको छ । भानुभक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको  प्रहरीले जनाएको छ । 

२०७९ माघ १६ ०८:३८ बजे

प्रतिक्रिया