सरकारी वेबसाइटमा ‘साइबर आक्रमण’ हुँदा पाँच घण्टाका लागि सरकारी सेवा अवरुद्ध

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १५ ०७:१६ बजे
साइबर आक्रमण

 काठमाडौं । नेपाल सरकारका वेबसाइट शनिबार करिब पाँच घण्टा अवरुद्ध भएको छ ।  शनिबार दिउँसो करिब १२:३० देखि अपराह्न साढे ५ बजेसम्म सरकारी वेबसाइट जीओभी डटकम डटएनपी नचलेर अवरुद्ध भएको हो । 

राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रका सहायक निर्देशक तथा सूचना अधिकारी रमेश पोखरेलले एनआईटीसीको सर्भरमा रहेको फायरवालमा मेमोरी (सीपीयू) एक्कासि बढेको देखिएको जानकारी दिए। प्रारम्भिक अध्ययनबाट साइबर आक्रमण (डीएनएस अट्याक) भएको देखिएको  उनले बताएका छन् । 

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)को सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडान बढी मात्रामा प्रभावित भए। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले शनिबार दिउँसो १२ बजेदेखि आएको प्राविधिक समस्याका कारण छवटा उडानका झण्डै ८०० यात्रुको हवाइ यात्रा प्रभावित भएको बताएका छन।

अन्तर्राष्ट्रियतर्फका कुनै उडान रद्द नभए पनि नेपाल वायुसेवा निगम, भिस्तरा, इन्डिगो, फ्लाई दुबई, थाई स्माइल र एयर इण्डियाले ढिला (डिले) गरेर उडान भरेको हो । 

करिब दुई घण्टासम्म प्राविधिक समस्या समाधान नभएपछि सम्बद्व मन्त्रालय र विभागसँग छलफल गरेर यात्रुको यात्रा विवरण टिपेर म्यानुअल उडान सुरु गरिएको विमानस्थलस्थित अध्यागमन विभागका प्रमुख वासुदेव घिमिरेले बताएका छन् ।  यस्तै प्राविधिक समस्याका कारण वैदेशिक रोगजार विभाग र विमानस्थलस्थिल भन्सार विभागका कामकारबाहीमा समेत समस्या पुगेको थियो।

शनिबार दिउँसो करिब १२:३० बजेदेखि अवरुद्ध रहेका सरकारी वेबसाइट करिब साढे चार बजे केही मिनेट सञ्चालनमा आए पनि पुनः अवरुद्ध भएका थिए।

त्यसपछि बेलुका करिब साढे पाँच बजेदेखि मात्र जीओभी डटकम डटएनपी वेबसाइट सञ्चालनमा आएका छन्। अधिकांश वेबसाइट सञ्चालनमा आए पनि अहिले पनि केही वेबसाइट भने सञ्चालनमा आउन सकेका छैनन्।  

२०७९ माघ १५ ०७:१६ बजे

प्रतिक्रिया