धनुषामा पाचौं संस्करणको साहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिता हुने

धनुषामा राष्ट्रिय स्तरको महिला हक्की प्रतियोगिता

bimbonline दिवेश कुमार महतो
२०७९ माघ १५ ०६:५१ बजे
हक्की प्रतियोगिता

जनकपुरधाम। धनुषामा साहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिता हुने भएको छ। 

धनुषाको नक्टाझिजमा पहिलो पटक पाचौं संस्करणको साहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिता हुने तय भएको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाम देखि उत्तरी भेगमा पर्ने धनुषाको मिथिला नगरपालिका (२ नक्टाझिजस्थित रहेको हिमालय युवा क्लबको खेलमैदान मा यहि मिति २०७९ माघ २३ गते देखि माघ २८ गतेसम्म राष्ट्रिय स्तरको खेल हुने कुरा नेपाल हक्की संघले जनाएको छ। 

संघका अनुसार प्रतियोगितामा ७ प्रदेशका टोलीहरु सहित एक बिभागिय टोली (नेपाल आर्मी)ले सहभागिता जनाउने भएका छन। प्रदेश नं -१ को टिम , मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र नेपाल आर्मीको टिम सहभागी रहने छ। 

मधेश प्रदेशमा महिला हक्की टिमलाई उकास्न र महिला सशक्तिकरण मा जोड दिनका लागि यसपाली राष्ट्रिय स्तरको खेल मधेस प्रदेशमा ल्याउन सफल भएको कुरा हक्की टिमको मधेस प्रदेश संयोजक रविन्द्र सिंहले बताउनुभयो। मधेश प्रदेशको टिममा धनुषा, महोत्तरी र पर्साको खेलाडीहरु रहेतापनि धनुषा र महोत्तरी बाट धेरै हक्की खेलाडीहरु राष्ट्रिय टिममा सहभागी पनि भएका छन्। हालै पोखरामा सम्पन्न भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा धनुषाको मिथिला नगरपालिका बाट जम्मा ८ जना महिला र ७ जना पुरुष खेलाडी राष्ट्रिय स्तरको टोलीमा सहभागी भएका थिए। सोही ठाउँमा पुरुष र महिलाहरु हक्की खेलमा लगनशिलताको साथ खेलिरहेको अवस्थामा आउने दिनमा ती खेलाडीहरुको भविष्य यस खेलमा राम्रो रहेकोले खेलाडीहरुलाई यस खेल प्रति अझै आकर्षित गराउनका लागि पनि यो प्रतियोगिता धनुषाको नक्टाझिजमा ल्याइएको हो।

सोही प्रतियोगिता नेपाल हक्की संघ केन्द्रीय कार्यालय र धनुषाको मिथिला नगरपालिका को संयुक्त आयोजना हुने भएको छ। यसका लागि मिथिला नगरपालिकाले आवश्यक सहयोग गरेका छन् भने आउने दिनहरुमा पनि यस भेगका राष्ट्रिय खेलाडीहरुका लागि मिथिला नगरपालिकाले साथ र सहयोग गर्ने कुरा मिथिला नगरपालिका का मेयर महेन्द्र महतोले बताउनुभयो। मेयर महतोका अनुसार यसको लागि मैले नेपाल हक्की संघका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य मनिष झा सँग समन्वय गरी खेलको लागि बाँकी प्रकियाहरु आगाडि बढाइसकेको छु भने पहिलो पटक मिथिला नगरपालिका मा हुन गइरहेको राष्ट्रिय खेलको लागि मिथिला नगरपालिकाले राष्ट्रिय टिमहरूलाई स्वागत गर्न तत्पर रहेको कुरा बताउनुभयो।

७ वटै प्रदेश र नेपाल आर्मीको टिमको सहभागितामा साहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिता भईरहेको हुनाले प्रतियोगिताको सम्पुर्ण व्यवस्थापनहरुको काम धमाधम भइरहेको कुरा पाचौं साहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिता को स्थानीय खेल संयोजक अरुण कुमार महतोले बताउनुभयो।

२०७९ माघ १५ ०६:५१ बजे

प्रतिक्रिया