प्रत्येक एक जना नेपालीलाई ६८ हजार ७५५ ऋण

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १२ १७:०४ बजे
ऋण

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिना  मंसिरसम्म नेपालको सार्वजनिक ऋण २० खर्ब ७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार मंसिर मसान्तसम्म सार्वजनिक ऋण आन्तरिक र वाह्य गरी उक्त रकम बराबर पुगेको हो । यो असार मसान्त अर्थात् अघिल्लो आर्थिक वर्ष २०७८/७९ को (गत असारसम्मको तुलनामा) भने ७ अर्ब रुपैयाँ कम हो ।

असार मसान्तसम्म सार्वजनिक ऋण २० खर्ब १३ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । मंसिरसम्मको तथ्यांक अनुसार नेपालको  सार्वजनिक ऋण प्रतिव्यक्तिमा भाग लगाउने हो भने  ६८ हजार ७५५ रुपैयाँ पर्न आउँछ । यो कुल सार्वजनिक ऋणलाई २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसारको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० ले भाग गर्दा आएको नतिजा हो ।

यो बजेटका लागि स्रोत व्यवस्थापन गर्ने माध्यमका रुपमा २ खर्ब ४२ अर्ब २६ करोड वैदेशिक ऋण र २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य छ । तर, मंसिर मसान्तसम्म २९ अर्ब ५७ करोड बाह्य ऋण र १७ अर्ब ५० करोड आन्तरिक ऋण उठेको छ । यसर मंसिरसम्म सरकारले कुल ४७ अर्ब ७ करोड रुपैयाँ थप ऋण लिएको छ ।

मंसिरसम्म सरकारले सावाँ र ब्याजमा झण्डै पौने खर्ब रुपैयाँ भुक्तानी गरेको छ । सरकारले लिएको ऋणको तुलनामा भुक्तानी रकम धेरै हुँदा समेत कुल सार्वजनिक ऋण भने घटेको देखिएको हो ।

मंसिर मसान्तसम्म सरकारले ५३ अर्ब २४ करोड रुपैयाँ सावाँ भुक्तानी गरेको छ । यसै अवधिमा ३२ अर्ब १५ करोड रुपैयाँ बराबर ब्याज भुक्तानी भएको छ । यो बाहृय र आन्तरिक दुबै ऋणमा भएको भुक्तानी हो ।

२०७९ माघ १२ १७:०४ बजे

प्रतिक्रिया