स्याङ्जामा एका-एक फुटबल मैदानमा हेलिकोप्टर उतार्ने पाइलट निलम्बन

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १० १९:५७ बजे
फुटबल मैदानमा हेलिकोप्टर

काठमाडौं । स्याङ्जामा फुटबल मैदानमा हेलिकोप्टर उतार्ने पाइलट निलम्बन परेका छन् ।पोखराबाट स्याङ्जा जान अनुमति लिएर उडेको प्रभु हेलिकोप्टरका पाइलट रानेश डंगोल निलम्बनमा परेका  हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलटले जोखिम हुँदाहुँदै पूर्वअनुमति नलिई फूटबल मैदानमा हेलिकोप्टर अवतरण गराएपछि पाइलटलाई निलम्बन  गरिएको जनाएको छ ।  प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पाइलटले स्याङ्जा जाने भनेर पोखराबाट अनुमति लिएका थिए ।

पाइलटले हेलिकोप्टरलाई फुटबल ग्राउण्डमै अवतरण गराउने  जानकारी भने गराएका थिएनन् । सामान्यतया हेलिकोप्टर उडानमा पाइलटले यात्रुले दिएको लोकेसनमा सबैभन्दा सुरक्षित स्थान हेरेर अवतरण गराउने निर्णय लिन सक्छन् । तर, फुटबल खेल भइरहेको मैदानमा मानवीय गतिविधि हुने र यसले हेलिकोप्टरको सुरक्षामा जोखिम हुने जान्दाजान्दै अवतरण गराएपछि उनी कारवाहीमा परेका हुन् । 

नियम अनुसार हेलिकोप्टर उडानमा गन्तब्य र त्यसको सुरक्षाको जिम्मेवारी वायुयान सञ्चालक र पाइलटले नै लिनुपर्छ । सोहीकारण पाइलटलाई सुरक्षित लागेको स्थानमा हेलिकोप्टर अवतरण गराउन सक्छन् । स्याङ्जाको हकमा सुरक्षित अवतरण हुन सक्ने अन्य स्थान बेवास्ता गरी फुटबल मैदानमा हेलिकोप्टर लगेपछि पाइलट नियामक निकायको कारबाहीको दायरामा आएका हुन् । पाइलट ग्राउण्डेड भएपछि उनले पुनः वायुयान उडाउन प्राधिकरणले तोके अनुसारका प्रक्रिया पुरा गर्नुपर्छ ।

२०७९ माघ १० १९:५७ बजे

प्रतिक्रिया