कन्सल्टेन्सी व्यवसायी मनोज पाण्डे कम्तीमा ३ वर्ष जेल जाने

bimbonline बिम्ब अनलाइन
२०७९ माघ १० १९:४९ बजे
मनोज पाण्डे

काठमाडौं । मानव  बेचबिखन र बाल यौन दुरुपयोगको मुद्दा खेपिरहेका कन्सल्टेन्सी व्यवसायी मनोज कुमार पाण्डेलाई  कम्तीमा ३ वर्ष जेल  हुने भएको छ ।  काठमाडौं जिल्ला अदालतले मानव बेचबिखनको मुद्दामा समेत पाण्डेलाई दोषी ठहर गरेपछि उनी कम्तीमा तीन वर्ष जेल जाने भएका हुन् । 

गत जेठ महिनादेखि थुनामा रहेका पाण्डेलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको हो । २०७० सालमा एक किशोरीलाई बाल यौन दुरुपयोग तथा विभिन्न स्थानमा लगी शारीरिक शोषण गरेको अभियोगमा सरकारले पाण्डेविरुद्ध मानव बेचबिखन र बाल यौन दुरुपयोगको मुद्दा दायर गरेको थियो । 

काठमाडौं जिल्ला अदालतमा मंगलबार न्यायाधीश दीपक ढकालको इजलासले पाण्डेलाई दुवै कसुरमा दोषी ठहर गरेका  हो । इजलासले पाण्डेविरुद्धको बाल यौन दुरुपयोगमा ६ महिनाको कैद, पाँच हजार रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । त्यसैगरी मानव बेचबिखनको मुद्दामा समेत पाण्डे दोषी ठहर भएका छन् । दोषी ठहर भएपनि सजाय निर्धारणका लागि भने माघ २३ गतेको पेशी तोकिएको छ । 

फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ दफा ८ र ९ अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा छुट्टै सुनुवाइको व्यवस्था गर्नुपर्ने व्यवस्था रहेको छ ।  सोही व्यवस्था अनुसार सजाय निर्धारणका लागि माघ २३ गते पेशी तोकिएको छ ।

२०७९ माघ १० १९:४९ बजे

प्रतिक्रिया