माओवादीको आशमा राष्ट्रपतिमा उम्मेदवारी दिँदै नेपाली कांग्रेस

कांग्रेसले सभामुख र उपसभामुखमा पनि आफ्नो तर्फबाट उम्मेदवार उठाएको थियो

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ९ १९:३० बजे
राष्ट्रपति

 काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवार उठाउने निर्णय भएको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएसँगै नेपाली कांग्रेसले राज्यका केही प्रमुख पदहरूमा माओवादी केन्द्रसँग गोप्य वार्ता गरेको आरोप पनि रहेको छ ।  नेपाली कांग्रेसको सोमबार बिहान बसेको पदाधिकारी बैठकले  राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको  हो । 

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले कांग्रेसकै उम्मेदवार उठाउने र त्यसका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

‘कांग्रेसले राष्ट्रपतिको उम्मेदवार उठाउने निर्णय गरेको छ । त्यसका लागि अन्य दलसँग छलफल सुरु गर्छौ,’ उनले भने । नेपाली कांग्रेसले पार्टीकै उम्मेदवार उठाउने निर्णय गरे पनि त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै निर्णायक मानेको छ ।

 संविधान जोगाउन भन्दै  प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकाले कांग्रेसले  स्वाभाविक प्रचण्डबाट सहयोगको अपेक्षा पनि लिएको छ । तर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका विषयमा केही बोलेका छैनन् । उनले प्रतिपक्षी दलसँगको सहमतिमा मात्र राष्ट्रपतिको उम्मेदवार तय हुने बताएका छन् ।

कांग्रेसले २९ फागुन अघि नै राष्ट्रपतिको निर्वाचन गर्न दबाब दिने निर्णय पनि गरेको छ । वर्तमान सत्तागठबन्धनले फागुनपछि राष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेपछि कांग्रेसले दबाब दिने रणनीति बनाएको हो । यसअघि पनि नेपाली कांग्रेसले सभामुख र उपसभामुखमा पनि आफ्नो तर्फबाट उम्मेदवार उठाएको थियो तर दुवै पदमा सत्तासझेदार दलका उम्मेदवारहरू निर्वाचित भएका छन् ।

२०७९ माघ ९ १९:३० बजे

प्रतिक्रिया