त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको डिजाइन त्रुटिपूर्ण

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ६ ०७:३७ बजे
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा रहेको एस्केलेटर र लिफ्टलगायतको डिजाइनमा समस्या देखिएको छ। डिजाइनमा समस्या भएकै कारण यात्रुले दुःख पाउने गरेका छन्। 

त्यस्तै समस्यामा परेकी मोडल तथा अभिनेत्री उषा रजक एक्लै चिच्याइरहेको भिडियोबारे अहिले सामाजिक सञ्जालमा चर्चा छ। उक्त भिडियोले अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु सुरक्षा र सहजतालाई लिएर देश–विदेशबाट विरोध भइरहेको छ।

बैङ्ककबाट छोरीसहित सोमबार मध्यरातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनुभएकी उहाँले विमानस्थलको अन्तर्राष्ट्रिय आगमन हलमा रहेको एस्केलेटरको डिजाइन र त्यहाँका कामदारले गरेको व्यवहारप्रति लक्षित गर्दै फेसबुकमा लाइभ आएर रुँदै आफ्नो आक्रोश पोख्नुभएको थियो। 

एस्केलेटरको इन्जिनियरिङ गलत रहेको दाबी गर्दै आफूलगायत केही यात्रु स्केलेटरमा लडेको र घाइतेसमेत भएको भन्दै फेसबुक लाइभमा आएर आक्रोश पोख्नुभएको हो। डिजाइनमा समस्या रहेको उहाँको गुनासोलाई विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले ट्विटर ह्यान्डलमार्फत सम्बोधन गर्दै ‘आईएमएस एयरपोर्ट सर्भिसले गरेको स्केलेटरको डिजाइन गलत रहेको’ प्रस्ट पार्नुभएको छ तर उहाँको यो स्पष्टीकरण नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति जारी गरी यात्रुलाई नै सावधान गराएको तीव्र विरोधपछि आएको हो।

अन्तर्राष्ट्रिय मापदण्डविपरीत स्केलर जडान हुँदा यसअघि पनि उक्त स्केलेटरमा यात्रु लड्ने गुनासो आउने गरेको भए पनि नियामक निकायले तदारुकता नदेखाउँदा अन्तर्राष्ट्रिय जगत्मै फितलो व्यवस्थापनबारे प्रश्न उठेको छ।

ठेकेदार कम्पनीको बचाउ हुने गरी त्रिभुवन विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिप्रति पनि तीव्र आलोचना भएको छ। आधिकारिक विज्ञप्ति प्राधिकरणको लेटरहेड प्याडमा हुनुपर्ने, जारी गर्ने अधिकारीको नाम र दर्जा उल्लेख हुनुपर्नेमा प्राधिकरणको लोगो मात्र भएको छाप र हस्ताक्षर मात्रै छ तर कसको हस्ताक्षर हो भन्ने प्रस्ट छैन।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले स्केलेटर भिरालो रहेको र यात्रुलाई पर्याप्त लिफ्टको सुविधा नरहेकाले लिफ्ट थप्न र आईएमएस ग्रुपलाई यात्रुको सुविधालाई ध्यानमा राख्न निर्देशन दिएको बताउनुभयो।

आईएमएस एयरपोर्ट सर्भिसकी निर्देशक तारु श्रेष्ठले भवन निर्माण गर्दा मापदण्डमा स्केलेटरको डिजाइन नरहेको र कोरोना कालमा यात्रुको दूरी कायम गराउन स्केलेटरको निर्माण भएकाले भिरालो हुन गएको स्वीकार गर्नुभयो। 

उहाँले भन्नुभयो, “यात्रुलाई असुविधा दिने कम्पनीको मनसाय होइन। थप चारवटा लिफ्ट थप्नेबारे छलफल भइरहेकाले हाललाई स्केलेटरबाट सामानसहित यात्रुको आगमनमा रोक लगाइएको छ।”

उक्त घटनापछि नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पनि बिहीबार विमानस्थलको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले विमानस्थलको सरसफाइ र आगमन कक्षतर्फका लिफ्ट, स्केलेटर र ट्रयाबलेटरको समेत अनुगमन गर्दै व्यवस्थित र सुरक्षित राख्न निर्देशन दिनुभएको छ। करिब ५१ रोपनी सरकारी जग्गामा पार्किङलगायतका सेवाका लागि निजी कम्पनी आईएमएस ग्रुप जिम्मेवार छ। त्यहाँ विमानस्थलको आगमनतर्फको भागमा पुग्ने सवारी साधनले महँगो पार्किङ शुल्क तिर्न बाध्य भएको गुनासो बेग्लै छ। गोरखापत्रबाट 

२०७९ माघ ६ ०७:३७ बजे

प्रतिक्रिया