जापान जाने लोभमा बिल्लीबाठ

bimbonline बिम्ब अनलाइन
२०७९ माघ ६ ०७:३२ बजे
जापान

विराटनगर । चितवनका राजेन्द्र अधिकारी र मोरङ सुनवर्षी–६ का अजय राजवंशी जापानको गार्मेन्ट उद्योगमा काम गर्नुहुन्थ्यो । उहाँहरूसँगको सम्पर्कमा थिए धरानका मिन्चिरा चाम्रकार, ठेगाना नखुलेका ज्योति घले र कर्णकुमार दवाडी । 

यो समूहले जापानको गार्मेन्ट उद्योगमा काम गर्न लैजाने भन्दै मोरङका युवालाई लोभ्याए । जसमध्ये सुनवर्षीका अजयलाई जापान जाने युवा खोजेर पैसा सङ्कलन गर्ने जिम्मा दिइयो । अजयले आफन्तहरूमा यसको जानकारी गराएपछि सबैले धमाधम पैसा बुझाए । 

यो प्रलोभनमा जापान जान तयार भएका ४१ जनामध्ये मोरङका मात्रै ४० जना युवाको पैसा डुबेको छ । यसरी पैसा डुब्ने र ठगिनेमा अजयको सम्पर्कमा आएका मोरङका ४० जना युवा एउटै राजवंशी समुदायका छन् । जापानको हल्ला गत चैतदेखि सुरु भएको थियो । वैशाखदेखि पैसा खोज्न र जम्मा गर्न थालिएको थियो । राजेन्द्रले सामान्य जापानी भाषा जान्नेहरूलाई लैजान सकिने भनेपछि पैसा बुझाएका युवाले विराटनगरको इडुमार्कमा अध्ययन गरे । उहाँहरूमध्ये अजयकी बहिनी विद्या, भाइ रञ्जित र रञ्जितकी श्रीमती अनुराधा पनि रहेको पीडित युवक हरि राजवंशीले बताउनुभयो । जापान जाने भनेपछि अनुराधा र रञ्जित विवाह बन्धनमा बाँधिएका थिए । राजेन्द्रले युवालाई ठग्ने नियत राखेपछि जापान जान तयार भएका युवाले जम्मा गर्ने पैसा अजयका भाइ रञ्जित, बुहारी अनुराधा र बहिनी विद्याको नाममा जम्मा गर्न लगाए । सुरुसुरुमा राजेन्द्रको नाममा समेत पैसा जम्मा गर्न लगाइएको थियो । 

मुख्य योजनाकार भनिएका राजेन्द्र र अजयले उठेको रकम लिएर पुनः जापान गएको खुलेको छ । अजयसहित उनका भाइबुहारी रञ्जित–अनुराधा र बहिनी विद्या फरार छन् । उहाँहरूले वैदेशिक रोजगार विभागमा पुस २८ गते राजेन्द्रविरुद्ध उजुरी दिनुभएको छ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसँग सम्बन्धित नभई ठगी कसुर गरेको देखिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा पत्राचार गरेको छ । 

पैसा बुझाएका र पैसा बुझाउन आग्रह गर्नेहरू एकै पटक राजेन्द्र समूहको जालमा फसेपछि अहिले मोरङको दक्षिणवर्ती क्षेत्रका युवाको कन्तबिजोग भएको छ । बारम्बार कानुनी उपचारको खोजीमा रहेका उहाँहरूले अजयसहित अजयका भाइबुहारी र बहिनीविरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । त्यसका आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालयमा व्यक्ति उपस्थित गराउन निर्देशन दिइएको छ । 

सुनवर्षी नगरपालिकाका प्रमुख श्यामप्रसाद राजवंशीले गाउँ नै अशान्त भइरहेको बताउनुभयो । पैसा उठाउन लगाउने राजेन्द्र फरार भएपछि गाउँका युवाले गाउँकै व्यक्तिलाई समाउनुपर्ने माग राखिरहेको उहाँले बताउनुभयो । प्रशासनले तत्काल राजेन्द्रलाई नियन्त्रणमा लिएर सबैमाथि न्याय गर्नुपर्ने माग उहाँले गर्नुभयो । 

नक्कली ‘सीओई लेटर’ बनाएर राजेन्द्रले अन्तिम किस्तासम्मको रकम हाल्न लगाएको देखिएको छ । कटहरी–३ का विवेक राजवंशीले मासिक चार लाख रुपियाँ कमाइ हुने आश्वासनमा १८ लाख रुपियाँ बुझाएको बताउनुभयो । पैसा बुझाएर जापान जान नपाएका पीडित युवाले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर आफूहरूको बाध्यता सुनाएका छन् । 

रङ्गेली नगरपालिका–८ का राजेश्वर राजवंशीले गत पुस १५ गते मात्रै आफूहरूले नक्कली ‘सीओई लेटर’  (सर्टिफिकेसन अफ इलिजिबिलिटी)मा पैसा जम्मा गराएर ठगिएको जानकारी पाएको बताउनुभयो । अजयसँग पाँच वर्षसम्म एउटै कोठामा बस्नुभएका राजेश्वरले साथी गलत थियो कि उसलाई परिचालन गर्ने भन्ने यकिन नभएको बताउनुभयो । “नातामा हामी सबै राजवंशी जोडिएका छौंँ,” राजेश्वरले भन्नुभयो, “फस्दा सबै यही समुदायका युवा फसेका छौँ ।”

जापान जान पाउने प्रलोभनमा कतिले घरजग्गा बन्धकी राखेर साहुसँग रकम लिएका छन् । सयकडा तीनदेखि पाँच प्रतिशतसम्मको ब्याज दरले ऋणको ब्याज बढ्दै गएको छ । झापा कनकाई–१ का भवानीप्रसाद अधिकारीले आठ लाख रुपियाँ बुझाएको सुनाउँदै भन्नुभयो, “मोरङ आएर फसेँ, बिजोग भयो अब कसरी पैसा उठाउने चिन्ता थपियो ।” 

जापान जाने धुनमा रहेकी कल्पना राजवंशीले चार लाख २० हजार रुपियाँ बुझाएको बताउनुभयो । त्यसपछि रकम जम्मा गर्ने युवाले सात लाख, आठ लाख, १० लाख हुँदै छ जनाले १६ लाख र एक जनाले १८ लाखसम्म बुझाएका छन् । उनीहरूले बैङ्कमा जम्मा गरेको पैसाबाहेक नगदसमेत बुझाएका थिए । गोरखापत्रबाट 

२०७९ माघ ६ ०७:३२ बजे

प्रतिक्रिया